प्रसाईंको प्रश्न–‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकार किन मौन?’

३१ भाद्र २०८३, बुधबार १४:४३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले एकातर्फ देश विपत्तिको मारमा परेको र अर्कोतर्फ बजारमा अत्यावश्यक वस्तुको मूल्य बढ्दा पनि सरकार मौन बसेको बताएका हुन्।

उनले प्याज, चिनी, चामल र तेललगायत अत्यावश्यक वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। महँगीको प्रत्यक्ष मारमा सर्वसाधारण परेको उल्लेख गर्दै उनले भने, ‘चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ।’

नवनियुक्त उद्योगमन्त्रीलाई शुभकामना दिँदै प्रसाईंले कालोबजारी र बजारको अनियमितता नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी हुनुपर्ने बताए। ‘नयाँ मन्त्रीज्यूको भूमिका यस पटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो नहोस्। यो कालोबजारी नियन्त्रण गर्न साँच्चिकै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने।

प्रसाईंले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए। सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेर भेडा–बाख्रा कोचेजस्तै ओसार्ने गरिएको भन्दै उनले सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको बताए। उनले गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै राजधानीमै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै प्रश्न गरे।

‘के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र ? सरकारको यो मौनता र अक्षमताले देशको अस्तित्व र उपस्थितिलाई गम्भीर प्रश्न उठाइरहेको छ,’ प्रसाईंले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*