कृष्णभीर सडकखण्ड खुलेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनदेखि अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माणपछि बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा दुवैतर्फका सवारीसाधन नियमित रूपमा चल्न थालेका हुन्।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। त्यसपछि सडक खुलाउन सम्बन्धित निकायले नयाँ ट्र्याक निर्माणसहितको काम अघि बढाएका थिए।
नयाँ ट्र्याक निर्माणको अवस्था परीक्षण गर्न भदौ २८ गते केही हेभी सवारीसाधन सञ्चालन गराइएको थियो। निर्माण तथा मर्मतको काम पूरा भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौं र देशका विभिन्न जिल्लाबीच सडकमार्गबाट हुने आवतजावत सहज हुने भएको छ। राजमार्ग अवरुद्ध हुँदा ठूला तथा साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर आवतजावत गर्दै आएका थिए।










