सर्वोत्तम पेन्ट्सको साधारणसभा असोज २५ गते बस्दै, १० प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २५ गते गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ८६औं बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीका अनुसार साधारण सभा असोज २५ गते आइतबार दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पा प्रालिमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमा छलफल हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजी ३४ करोड रुपैयाँको ०.५२६३ प्रतिशत अर्थात् १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । उक्त नगद लाभांश लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी विशेष प्रस्तावअन्तर्गत शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ । बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभामा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ । साथै आधारभूत शेयरधनी वा सञ्चालकसँग सम्बन्धित संस्थासँग भएका कारोबार अनुमोदन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफल हुनेछ ।
साधारण सभामा सहभागी हुन कम्पनीले असोज १३ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसअघि कारोबार भई आफ्नो नाममा शेयर नामसारी भएका शेयरधनीले सभामा सहभागी भई मतदान गर्न तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।











