राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

२ आश्विन २०८३, शुक्रबार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)देखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याइएको हो । नयाँ नोटमा सङ्केत नम्बर ट२४ ०००००१ देखि ण७० ९९९९९९ सम्म रहनेछ ।

नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । पानीछापको तल्लो भागमा ५० अंकसमेत रहनेछ । नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख गरिएको छ भने नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ ।

नयाँ नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा ‘एनआरबी’ अक्षर देखिनेछ ।

नोटको पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको छ । त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने तल्लो भागमा ‘रुपिज फिफ्टी’ तथा ‘२०२५ एडी’ सिरिज नम्बर उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गते ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो । उक्त नोटको सङ्केत नम्बर ०००००१ देखि ९९९९९९ सम्म रहने भनिए पनि ०००००१ देखि ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*