पहिलो महिनामै निर्यात ३८ अर्ब ७० करोड, व्यापार घाटा १ खर्ब ४८ अर्ब

२ आश्विन २०८३, शुक्रबार १८:०९

कामठाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७१.० प्रतिशत, २८७.८ प्रतिशत र १८.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिष्टर धागो, जुटका सामान, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोधित छाला, खोटो, जडीबुटी, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तुलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु आयात ३१.० प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.४ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २२.६ प्रतिशत, १३.४ प्रतिशत र ६९.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल, तेलहन, कच्चा भटमासको तेललगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, सुन, अलकत्रा, कोइला, मेडिकलका सामान तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले वृद्धि भई रु.१४८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात २०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १६.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१६ अर्ब ८१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१३ अर्ब ४३ करोड बराबरको भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*