दुई महिनामै १ लाख ३० हजार नेपाली पुगे वैदेशिक रोजगारीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका हुन् । साउनमा मात्रै ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।
भदौमा भने अघिल्लो महिनाको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । उक्त महिनामा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । तीमध्ये ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन् ।
भदौमा श्रम स्वीकृति लिनेहरूमध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । यसैगरी, बिदामा नेपाल फर्किएपछि पुनः रोजगारीमा जान २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गन्तव्य मुलुकका हिसाबले संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख रोजाइमा परेको छ । भदौमा यूएई जान १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला छन् ।
त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् ।
युरोपतर्फ रोमानियाका लागि १ हजार ७९३ जनाले श्रम स्वीकृति लिएका छन् । जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले स्वीकृति पाएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियाबाट जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
जिल्लागत रूपमा हेर्दा मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा धेरै छ । भदौमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन् ।
झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् ।
हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीमा जानेको संख्या निकै कम देखिएको छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको सीपगत अवस्थातर्फ दक्ष जनशक्तिको हिस्सा सबैभन्दा ठूलो छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिने ३४ हजार १६७ जना अर्थात् ५६.९ प्रतिशत दक्ष श्रमिक रहेका छन् ।
त्यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक रहेका छन् ।
भदौमा नयाँ श्रम स्वीकृति लिने ३४ हजार ८३९ जनामध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत प्रक्रिया पूरा गरेका छन् भने ९ हजार २२४ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् ।











