दुई महिनामै नेपाल भित्रियो ११ अर्बको विदेशी लगानी प्रतिबद्धता

उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ वटा उद्योगका लागि कुल ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको हो। प्रस्तावित उद्योग सञ्चालनमा आए ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
विदेशी लगानीकर्ताको आकर्षण स्वचालित मार्गबाट उद्योग दर्ता गर्नेतर्फ बढी देखिएको छ। दुई महिनामा स्वीकृत भएका ३२८ उद्योगमध्ये ३२२ वटा स्वचालित मार्गबाट आएका छन्। ती उद्योगका लागि ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।
त्यस्तै, स्वीकृति प्रक्रियामार्फत ६ वटा उद्योगका लागि १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ।
लगानी रकमका आधारमा पर्यटन क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। यस अवधिमा पर्यटनतर्फ ७० वटा उद्योगका लागि ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। यो कुल प्रतिबद्धताको करिब ३४ प्रतिशत हो।
सेवामूलक क्षेत्रमा २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यो कुल प्रतिबद्धताको करिब ३० प्रतिशत हो।
ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि मात्रै २ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। यस्तै, उत्पादनमूलक क्षेत्रमा १८ वटा उद्योगका लागि १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। कृषिमूलक क्षेत्रमा भने एउटा उद्योगका लागि २ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको विभागले जनाएको छ।
उद्योगको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि क्षेत्र सबैभन्दा अगाडि छ। दुई महिनामा स्वीकृत कुल उद्योगमध्ये २१२ वटा अर्थात् करिब ६५ प्रतिशत उद्योग सूचना तथा सञ्चार प्रविधि क्षेत्रका छन्। ती उद्योगका लागि ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।
खनिज तथा पूर्वाधार क्षेत्रमा भने साउन र भदौमा कुनै विदेशी लगानी प्रतिबद्धता आएको छैन।
भदौ महिनामा मात्रै १३६ वटा उद्योगका लागि ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। ती उद्योग सञ्चालनमा आए ९८३ जनाले प्रत्यक्ष रोजगारी पाउने प्रस्ताव गरिएको छ।
लगानीको आकार हेर्दा विदेशी लगानी मुख्यतः साना उद्योगमा केन्द्रित भएको देखिन्छ। दुई महिनामा स्वीकृत ३२८ उद्योगमध्ये ३२३ वटा साना उद्योग छन्। यस अवधिमा दुईवटा मझौला र तीनवटा ठूला उद्योग स्वीकृत भएका छन्।
यसै अवधिमा सेयर खरिद तथा सेयर सदस्यता सम्झौतामार्फत १२ वटा परियोजनामा थप ८२ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। प्रविधि हस्तान्तरणतर्फ भने आठवटा सम्झौता स्वीकृत भएका छन्।
विदेशी लगानीसँगै व्यावसायिक गतिविधिका लागि नेपाल आउने विदेशीको संख्या पनि बढेको विभागको तथ्यांकले देखाएको छ। दुई महिनामा ८५ जना विदेशी लगानीकर्ता, ६२ जना आधिकारिक प्रतिनिधि र ८६ जना आश्रित परिवारका सदस्य गरी २३३ जनालाई व्यावसायिक भिसाका लागि सिफारिस गरिएको छ।











