संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बालेन भोलि अमेरिका जाँदै

काठमाडौं । वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन्। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री शाहको महासभा सम्बोधनमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर, हिमाली क्षेत्रको बढ्दो जोखिम तथा पछिल्लो बाढीबाट भएको ठूलो जनधनको क्षतिको विषय प्रमुख रूपमा उठाउने तयारी छ । नेपालले जलवायु परिवर्तनमा आफ्नो योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछ ।
विशेषगरी भदौ १० गते रसुवाको नुवाकोटमा आएको बाढी तथा त्यसबाट भएको जनधन, पूर्वाधार र सम्पत्तिको क्षतिलाई जलवायुजन्य विपद्सँग जोड्दै अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्ने तयारी छ । सरकारले जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकका लागि स्थापना गरिएको लस एन्ड ड्यामेज फन्ड लगायतका संयन्त्रबाट तत्काल र उपयुक्त क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्ने तयारी गरेको हो ।
नेपालले विकसित तथा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकबाट जलवायु वित्त, सहुलियतपूर्ण सहयोग तथा जलवायु अनुकूल पूर्वाधार निर्माणका लागि प्राविधिक र आर्थिक सहयोगको विषयसमेत उठाउनेछ । पछिल्लो विपद्लाई नेपालले जलवायु संकटको गम्भीर प्रभावका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी गरेको हो ।
शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन् । यसपटक संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहने जनाइएको छ ।
यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क प्रस्थान गरिसकेको छ । परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । बालेनको भने यो पहिलो विदेश भ्रमण हो ।











