म्याद नाघेका र अखाद्य सामग्री प्रयोग गर्ने चार खाद्य उद्योग तथा व्यवसायमा कारबाही

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ।
यस क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौं, स्थानीय तह र प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका तथा स्वयम्भु क्षेत्रमा रहेका चार खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गरी कारबाही गरेको छ।
चन्द्रागिरि नगरपालिका–१५, ढुंगेअड्डास्थित श्रीकृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमनका क्रममा अनुमतिपत्र नलिई म्याद नाघेका, लेबल नभएका तथा किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी उत्पादन गर्ने गरेको भेटिएको विभागले जनाएको छ।
उद्योगले म्याद नाघेको चकलेटमा नयाँ लेबल लगाएर बिक्री गर्ने गरेको तथा लेबलमा उल्लेख गरिएका खुवा, नरिवल, काजु, बदामलगायतका सामग्रीको सट्टा अखाद्य वस्तु प्रयोग गर्ने गरेको समेत पाइएको छ।
अनुगमन टोलीले उद्योगबाट म्याद नाघेको चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, पीठो, स्किम मिल्क पाउडर, चामलको पीठो तथा तयारी अखाद्य गुदपाक र पुष्टकारी गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरेको छ। उद्योगको उत्पादन तथा बिक्री वितरण रोक्का गरी नमुना परीक्षणका लागि पठाइएको र उद्योग शिलबन्दी गरिएको विभागले जनाएको छ।
सोही स्थानमा रहेको बज्रबाराही भण्डारमा पनि सरसफाइको अवस्था सन्तोषजनक नरहेको, एउटै कोठामा प्रशोधन र प्याकेजिङ गर्ने गरेको तथा अनुमतिपत्रबिना शंकास्पद कच्चा पदार्थ प्रयोग गरी खाद्य सामग्री उत्पादन गर्ने गरेको भेटिएको छ। टोलीले त्यहाँबाट करिब ३५० किलो तयारी अखाद्य वस्तु, करिब १ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री जफत गरी नष्ट गरेको छ। साथै, नमुना संकलन गरी उद्योग शिलबन्दी गर्दै उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको छ।
यस्तै, स्वयम्भूस्थित श्री सस्तो बास्केट पसलमा नक्कली डेट कोड र लेबल लगाई खाद्य सामग्री बिक्री गर्ने गरेको उजुरीका आधारमा अनुगमन गर्दा अव्यवस्थित भण्डारण, अनुमतिबिना खुद्रा प्याकिङ तथा म्याद नाघेका सुजी, ब्रेड क्रम्ब, थाइम र राजमा भेटिएको विभागले जनाएको छ। ती सामग्री नष्ट गरिएको छ।
पसल सञ्चालकलाई म्याद नाघेका खाद्य वस्तुका लागि छुट्टै भण्डारण क्षेत्र बनाउन निर्देशन दिँदै सात दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ।
यसैगरी, स्वयम्भूमै रहेको यति आइस प्रालिले अर्कै वडामा दर्ता भएको व्यवसायबाट सञ्चालन गरिरहेको, विभागबाट अनुमति नलिई आइस क्युब उत्पादन गरेको तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ पालना नगरेको पाइएको छ। विभागले उक्त उद्योगको सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का राखी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।










