सार्वजनिक ऋण झण्डै ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन

८ आश्विन २०८३, बिहीबार ११:०४

काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो।

असार मसान्तमा सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। ऋण लिएको भन्दा साँवा भुक्तानी बढी भएपछि दुई महिनामा कुल ऋण करिब ८ अर्ब ६४ करोड रुपैयाँले घटेको हो। भदौ मसान्तसम्म सरकारको आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.०५ प्रतिशत बराबर पुगेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ ऋण उठाएको छ भने ७० अर्ब १३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। यसै अवधिमा सरकारले सार्वजनिक ऋण सेवामा ८५ अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ। यसको तुलनामा पूँजीगत खर्च भने ७ अर्ब ६६ करोड रुपैयाँ मात्रै भएको छ।

पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण करिब दोब्बर भएको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले बढेर ३० खर्ब नजिक पुगेको हो। त्यतिबेला जीडीपीको ३८.०५ प्रतिशत रहेको सार्वजनिक ऋणको भार अहिले ४५ प्रतिशतभन्दा माथि पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*