ईभी मोह बढ्दो : दुई महिनामै २८ सयभन्दा बढी विद्युतीय सवारी आयात

८ आश्विन २०८३, बिहीबार १२:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा मात्रै कार, जीप तथा भ्यान गरी २ हजार ८३४ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

ईभी आयातका लागि यस अवधिमा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ । सरकारले भने यी सवारीको आयातबाट ४ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपटक ईभी आयातमा ठूलो वृद्धि देखिएको छ । गत वर्ष साउन र भदौमा ४८६ वटा मात्रै ईभी आयात भएका थिए । त्यसबेला १ अर्ब २७ करोड रुपैयाँ बराबरको रकम बाहिरिँदा ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष आयातित ईभीको संख्या गत वर्षको तुलनामा ४८३ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आवको पहिलो दुई महिनामा नेपालले चार मुलुकबाट ईभी आयात गरेको छ । सबैभन्दा धेरै ईभी चीनबाट भित्रिएका छन् । चीनबाट मात्रै १ हजार ७४५ वटा ईभी आयात भएका छन् । त्यस्तै, भारतबाट ७३९, थाइल्याण्डबाट ३४८ र अमेरिकाबाट २ वटा ईभी नेपाल भित्रिएका छन् ।

आयात रकमका हिसाबले पनि चीन नै अगाडि रहेको छ । चीनबाट ४ अर्ब २६ करोड रुपैयाँ बराबरका ईभी आयात भएका छन् । भारतबाट १ अर्ब ४२ करोड रुपैयाँ, थाइल्याण्डबाट करिब १ अर्ब रुपैयाँ र अमेरिकाबाट ७८ लाख रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*