नक्कली सर्टिफिकेटले सरकारी जागिर खाएका सामाजिक परिचालकविरुद्ध मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध मुद्दा चलाएको छ।
आयोगका अनुसार यादव माधव नारायण नगरपालिकाको कार्यालयमा सामाजिक परिचालक अर्थात् सहायक स्तर पाँचौँ पदमा कार्यरत छन्। उनले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको नक्कली सर्टिफिकेट पेश गरेका पाइएको छ।
उक्त प्रमाणपत्रका आधारमा नियुक्ति लिएपछि यादवले हालसम्म राष्ट्रसेवकको हैसियतमा रही पद, सुविधा र अन्य लाभ लिएको आयोगले जनाएको छ।
आयोगले अनुसन्धानका क्रममा यादवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गर्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबी गर्दै आयोगले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।










