अन्ततः एमालेमा विद्यादेवी भण्डारीको कमब्याक

८ आश्विन २०८३, बिहीबार १५:३७

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ । एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेसँगै उनको औपचारिक राजनीतिक पुनरागमन निश्चित भएको हो ।

सचिवालयको निर्णयलाई अब जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तयारी छ । केन्द्रीय कमिटीबाट निर्णय पारित भएपछि भण्डारी एमालेमा वरिष्ठ नेताको हैसियतमा सक्रिय हुने छिन् ।

राष्ट्रपति पदमा रहँदा पार्टी राजनीतिबाट अलग रहेकी भण्डारीले पदबाट बाहिरिएपछि पुनः एमालेको राजनीतिमा फर्किन चाहना राख्दै आएकी थिइन् । तर, राष्ट्रपति पदको मर्यादा र संवैधानिक भूमिकालाई आधार बनाउँदै तत्कालीन अवस्थामा उनको पार्टी सदस्यता समेत रोकिएको थियो ।

भण्डारीले एमालेको ११औँ महाधिवेशनअघिदेखि नै पार्टी राजनीतिमा सक्रिय हुने तयारी गरेकी थिइन् । तर सदस्यता नहुँदा उनको राजनीतिक सक्रियता अघि बढ्न सकेको थिएन ।

गत फागुनमा सम्पन्न निर्वाचनपछि एमालेभित्र भएको राजनीतिक समीक्षा र त्यसपछि सदस्यता खुलाउने निर्णयले भने भण्डारीका लागि पार्टीमा फर्किने वातावरण बनाएको हो । यही प्रक्रियासँगै उनलाई अब पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने निर्णयमा एमाले नेतृत्व पुगेको हो ।

भण्डारी लामो समय एमालेको राजनीतिमा सक्रिय रहँदै उपाध्यक्षसमेत भइसकेकी नेता हुन् । उनी २०७२ सालदेखि २०७९ सालसम्म दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् ।

राष्ट्रपति पदबाट बाहिरिएको करिब चार वर्षपछि भण्डारी पुनः सक्रिय दलीय राजनीतिमा फर्किन लागेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*