बाढीले सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन बन्द, प्रसारण लाइनमा क्षति

१२ आश्विन २०८३, सोमबार १०:१२

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।

असोज ९ गते आएको बाढीका कारण आयोजनाको संरचना तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन र प्रसारण अवरुद्ध भएको कम्पनीले जनाएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको जानकारीअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेको छ। क्षतिका कारण असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन तथा प्रसारण हुन सकेको छैन।

त्यसैगरी, असोज १० गते राति ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार टावरको विद्युत आपूर्ति समेत अवरुद्ध भएको कम्पनीले जनाएको छ। सञ्चार सम्पर्क विच्छेद भएपछि आयोजनास्थलमा रहेका कर्मचारीसँग सम्पर्क हुन नसक्दा बाढीबाट आयोजनामा भएको थप क्षतिको विवरणसमेत प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*