आज दशैंको दिन देशभर मौसम कस्तो रहला ?

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा देशभरको मौसममा सामान्यतया अनुकूलता रहने देखिएको छ। यद्यपि, केही हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले दसैँको टीका थाप्न तथा आफन्तकहाँ आवतजावत गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी राख्नुपर्ने देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
दसैँको दिन बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र आशीर्वाद लिन जानेहरूको चहलपहल बढ्ने भएकाले मौसमको अवस्थाले आवतजावतमा केही प्रभाव पार्न सक्छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रको यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखेर यात्रा गर्न उपयुक्त हुनेछ।











