२ महिनामै विकास बैंकको नाफा एक अर्ब ४२ करोडः मुक्तिनाथलाई गरिमाले उछिन्यो, ५ कम्पनी ऋणात्मक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनामा विकास बैंकहरूले झण्डै साढे १ अर्ब खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल एक अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
बैंकहरूले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन र भदौ महिनामा विकास बैंकहरूले एक अर्ब २७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आर्थिक गतिविधिमा देखिएको सुस्तता तथा खराब कर्जाको दबाबबीच पनि विकास बैंकहरूको समग्रमा उत्कृष्ट नाफा आर्जन गरेको देखिएको हो ।
अझै ५ बैंकको नाफा भने ऋणात्मक नै देखिएको छ ।
विकास बैंकको नाफामा पहिलो स्थानमा रहेदै आइरहेको मुक्तिनाथले गरिमाले उछनेको छ । चालु आर्थिक वर्ष २ महिनामा गरिमाको नाफा ४.८१ प्रतिशतले बढेर २८ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।
यता, मुक्तिनाथको नाफा ३०.५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको २ महिनामा ३६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको मुक्तिनाथले चालु आर्थिक वर्षको सोहि अवधिमा भने २५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको हो ।

साउन र भदौमा शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको नाफा १८.७२ प्रतिशतले बढेर २० करोड ८४ लाख, कामना सेवा विकास बैंकको ८.३७ प्रतिशतलेबढेर १९ करोड २६ लाख र ज्योति विकास बैंकको ९.४२ प्रतिशतले बढेर १८ करोड ६२ लाख रुपैयाँ पुगेको हो ।
सर्वाधिक नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो स्थानमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ७० प्रतिशतले बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घटेर ९ करोड ७८ लाख, मितेरी डेभलपमेन्ट बैंकको ८.५४ प्रतिशतले बढेर २ करोड २२ लाख र ग्रिन डेभलपमेन्ट बैंकको ६४.९० प्रतिशतले बढेर १ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकको नाफा भने निरन्तर ओरालो लागि रहेको छ । ग्रामिण स्तरका विकास बैंकको नाफा लुम्बिनीको नाफा तल झरी रहेको हो । चालु आर्थिक वर्षको २ महिनाको तथ्याङ्कलाई हेर्दा बैंकको नाफा ६८.४८ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँ सीमित भएको हो ।
साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ३० लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ लाख रुपैयाँ रहेको छ ।
५ विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । सालपा ६ लाख, नारायणी डेभलपमेन्ट बैंक ३१ लाख, सिन्धु विकास बैंक ७७ लाख, एक्सेल डेभलपमेन्ट बैंक ८६ लाख र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ५० लाख रुपैयाँ घाटामा रहेको छ ।











