दशैं बिदामा पनि सेवा दिँदै निर्जीवन बीमा कम्पनी, दाबी भुक्तानीलाई प्राथमिकता

काठमाडौं । दसैं बिदा भएसगै अधिकांश सरकारी तथा निजी कार्यालय बन्द रहने भए पनि निर्जीवन बीमा कम्पनीहरूले भने बीमितलाई सेवा दिने भएका छन् । कम्पनीहरूले दसैं बिदाको अवधिमा निश्चित शाखा तथा काउन्टर खुला राखेर सीमित कर्मचारीमार्फत सेवा प्रदान गर्ने तयारी गरेका हुन् ।
नेपालमा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूले बिदाको समयमा पनि बीमितलाई आवश्यक सेवा उपलब्ध गराउने भएका छन् । यसका लागि कम्पनीहरूले कर्मचारीलाई जिम्मेवारी तोक्नुका साथै निश्चित समय र स्थानबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएका छन् ।
केही समयअघि गएको बाढीपहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा ठुलो अनुमान गरिएको छ । प्राकृतिक विपत्तिका कारण ठूलो परिमाणमा दाबी पर्ने देखिएपछि कम्पनीहरूले दाबी प्रक्रिया र भुक्तानीलाई विशेष प्राथमिकता दिएका हुन् ।
दसैं बिदामा समेत सेवा सञ्चालन हुँदा प्रभावित बीमितलाई दाबीसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी क्षति बेहोरेका बीमितले आवश्यक जानकारी लिन, कागजात बुझाउन तथा दाबी प्रक्रियामा सहजीकरण प्राप्त गर्न सक्नेछन् ।
बीमा कम्पनीहरूका लागि अहिले दाबीको चाप व्यवस्थापन गर्दै बीमितलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउनु महत्त्वपूर्ण चुनौती बनेको छ । यस्तो अवस्थामा कम्पनीहरूले सेवा प्रवाहलाई निरन्तरता दिँदै दाबी मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन सके प्रभावित बीमितलाई राहत पुग्नेछ ।











