भोलिदेखि एनपीएलको महासंग्राम, डेढ अर्बको कारोबार र साढे १ करोडको पुरस्कार

काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा एक महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँको प्रत्यक्ष आर्थिक कारोबार हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका क्रममा करिब १ अर्ब ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने जानकारी दिएको हो ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगिता सञ्चालन गर्ने एनपीएल कमिटीले टिकट बिक्रीसहित विभिन्न गतिविधिमा ७० देखि ७५ करोड रुपैयाँ खर्च गर्ने अनुमान छ । त्यस्तै, प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीले पनि सोही हाराहारीमा खर्च गर्ने अपेक्षा गरिएको छ ।
‘टिकेटिङसहित सम्पूर्ण गरेर एनपीएल कमिटीले ७०–७५ करोडको आर्थिक कारोबार गर्छ भने त्यही हाराहारीमा हामीसँग भएका टिम ओनरहरूले पनि खर्च गरेर १५० करोडको कारोबार एक महिनाको अवधिमा हुन्छ,’ खड्काले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगिताको पुरस्कार राशि पनि सार्वजनिक गरिएको छ । क्यानका अनुसार एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
एनपीएल भोलिदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटको विकाससँगै खेलकुद क्षेत्रमा आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।











