कर्जा असुलीमा सकस : बैंकको काँधमा ४८ अर्बको गैरबैंकिङ सम्पत्ति, वर्षदिनमै थपियो ५ अर्ब

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुली हुन नसकेपछि ऋणीका धितो सकारेर घरजग्गा तथा अन्य सम्पत्तिका ‘अनिच्छुक मालिक’ बन्न थालेका छन् । कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीको धितो लिलाम बिक्री गरेर रकम असुल गर्ने प्रक्रिया प्रभावकारी हुन नसक्दा बैंकहरूले त्यस्ता सम्पत्ति आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था बढ्दै गएको हो । फलस्वरूप वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (नन–बैंकिङ एसेट्स) थुप्रिने क्रम तीव्र बनेको छ । यसले एकातिर बैंकहरूको कर्जा असुली प्रक्रियामा देखिएको चुनौती उजागर गरेको छ भने अर्कोतिर बैंकको वित्तीय स्वास्थ्य, नाफा र लगानी विस्तार क्षमतामाथि समेत दबाब सिर्जना गर्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा २० वाणिज्य बैंकमध्ये १९ बैंकको गैरबैंकिङ सम्पत्ति कुल ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा रहेको ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँको तुलनामा ५ अर्ब २३ करोड ५७ लाख रुपैयाँ अर्थात् १२.११ प्रतिशतले बढी हो ।
गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज मसान्तसम्म बैंकको यस्तो सम्पत्ति ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ रहेको बैंकको गैरबैंकिङ सम्पत्ति ७.४० प्रतिशतले बढेको हो ।
त्यसैगरी इन्भेस्टमेन्ट मेगा बैंक ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्तिसहित दोस्रो स्थानमा रहेको छ । गत वर्ष ३ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति एक वर्षमा ५०.९४ प्रतिशतले बढेको हो । प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ४७ करोड ६१ लाख, एनआईसी एसिया बैंकको ४ अर्ब १० करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको ३ अर्ब १८ करोड ५४ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
वास्तवमा गैरबैंकिङ सम्पत्ति बढ्नुको पछाडि विगतमा भएको आक्रामक कर्जा विस्तार र जोखिम मूल्याङ्कनमा देखिएका कमजोरीलाई पनि प्रमुख कारणका रूपमा हेरिन्छ । बजार निरन्तर विस्तार हुने र घरजग्गाको मूल्य बढिरहने अपेक्षामा बैंकहरूले घरजग्गा तथा निर्माण क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह गरेका थिए ।
कतिपय अवस्थामा ऋणीको वास्तविक आम्दानी, व्यवसायको दिगोपन र नियमित नगद प्रवाहभन्दा धितोको बजार मूल्यलाई बढी महत्त्व दिइयो । सम्पत्तिको मूल्य निरन्तर बढिरहने अनुमानका आधारमा उच्च मूल्याङ्कन गरी कर्जा प्रवाह गर्दा तत्काल जोखिम कम देखिए पनि आर्थिक गतिविधि सुस्ताउँदै जाँदा त्यही रणनीति बैंकहरूका लागि चुनौतीपूर्ण बन्न पुग्यो । ऋणीले कर्जा भुक्तानी गर्न नसकेपछि धितो लिलाम गरेर रकम असुल गर्ने प्रयास गरिए पनि घरजग्गा कारोबारमा आएको मन्दीका कारण अपेक्षित मूल्यमा सम्पत्ति बिक्री हुन सकेको छैन । फलस्वरूप बैंकहरूले धितो सकारेर आफ्नै स्वामित्वमा राख्नुपर्ने अवस्था सिर्जना भएको हो ।











