दुध नबिकेर किसानहरु हैरान

काठमाडौं । मकवानपुरका दुध व्यवसायी किसानहरु दूध नबिकेर हैरान भएका छन् । सहकारी संस्थामार्फत दैनिक रुपमा दुध बिक्री गर्दै आइरहेका व्यवसायीले हप्तामा दुई दिन दुध बिक्री गर्न नपाउदा उनीहरु मर्कामा परेका हुन् ।
मकवानपुरगढी गाउँपालिका–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २४० किसानबाट चार हजार ८०० लिटर दूध संकलन गर्दै आएको थियो । तर हेटौंडा दुग्ध वितरण आयोजना र केही निजी डेरीले हप्तामा पाँच दिन मात्र दुध संकलन गर्नु भनी जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मार्फत मनकामना दुग्ध सहकारीलाई भनेपछि अहिले किसानहरु समस्यामा परेका हुन् ।
डेरी बन्द हुने भएपछि घरमा दूध व्यवस्थापन गर्न समस्या हुने किसानहरुले बताएका छन् । हप्तामा दुई दिन दुध संकलन नहुँदा मुख्यतः दैनिक २०० लिटरसम्म दुध बिक्री गर्दै आएका किसानलाई समस्या भएको मनकामना सहकारीका व्यवस्थापकले बताएका छन् । सहकारी मार्फत दुध बिक्री गर्ने करिब २४० जना यो समस्याबाट मर्कामा परेका सहकारीले जनाएको छ ।
यहाँ मात्र नभई मकवानपुरका विभिन्न सहकारी संस्था मार्फत दुग्ध व्यवसाय गर्दै आएका नौ हजार किसानले दुध नबिक्दा सास्ति झेलिरहेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघले अहिले ६१ वटा दुग्ध सहकारी मार्फत दैनिक ५० हजार लिटर दुध खरीद गरी बिक्री गर्दै आएको छ । जसमध्ये अहिले १५ हजार लिटर दुध हेटौंडामा खपत भइरहेको छ भने २० हजार लिटर दुध ललितपुर, भक्तपुर र काभ्रे पठाउने गरिएको छ ।
दैनिक संकलित १५ हजार लिटर दुध भने खपत हुन नसकेपछि संस्थाले साताको पाँच दिन मात्र दुध संकलन गर्ने गरेको हो । एक दिन दुध बिक्री गर्न नपाउदा व्यवसायीलाई ७१ लाख ५० हजार रुपैयाँ नोक्सान हुने संघले जनाएको छ ।
मकवानपुर जिल्लामा उत्पादन भएका सबै दुध खरीद गर्न सक्ने आयोजनाको क्षमता नै नभएको हेटौंडा दुग्ध वितरण आयोजना प्रमुखले बताएका छन् । आयोजनाले बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाका व्यवसायीले उत्पादन गरेको दुध संकलन गर्दै आएको छ ।
दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायत मन्त्रीहरूलाई अनुरोध गरेका छन्।
संघका प्रतिनिधिहरूले मुख्यमन्त्री सहित बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। । त्यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई समाधानमा आवश्यक सहजीकरण गरिदिन पनि आग्रह गरेका छन्।
ज्ञापनपत्रमा उपादित दुग्धजन्य पदार्थको बजारीकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगतभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।












