नेपालमा लगानी गर्न जापानी उद्यमीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेका इन्टरनेशनल कोअपरेशन अर्गनाइजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आईकोसा) का प्रतिनिधिसँग मंगलवार काठमाडौँमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।
नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग लगायत क्षेत्रमा लगानीका लागि प्रशस्त सम्भावना रहेको अध्यक्ष मल्लले बताए । नेपाल र जापानबीच आर्थिक तथा कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध रहेको छ ।
लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको दावी गर्दै अध्यक्ष मल्लले तुलनात्मक रुपमा बढी लाभ भएका नेपालका विभिन्न क्षेत्रमा जापानी लगानी भित्र्याउन उनले आईकोसाका अध्यक्ष डा. कुरोसे नावुहिरोसहितको प्रतिनिधिमण्डलसँग आग्रह गरे ।
नेपालमा अन्तरराष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत कानूनी सुनिश्चितता भइरहेको अध्यक्ष मल्लले जापानी प्रतिनिधिमण्डललाई जानकारी समेत गराए । नेपालमा लगानीको सुरक्षा, श्रमशक्ति सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने उनले बताए ।
चेम्बरका पदाधिकारीसँगको भेटमा आईकोसाका अध्यक्ष नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखे । कोभिड १९ पछि विश्वव्यापी रूपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ थियो ।
नेपालमा जलविद्युत्, पर्यटन लगायत सम्भावित अन्य क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्वीकार्दै उनले सम्भावना भएका क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने प्रतिवद्धता जनाए ।












