कानुन विपरीत औषधि बिक्री गर्नेलाई कारबाही गरिने बालेनको घोषणा

२० मंसिर २०८०, बुधबार ०८:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरभित्र कानुन विपरीत औषधि बिक्री वितरण गरेको पाइएमा कारवाही गर्ने बताएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका औषधि पसलहरुमा अनाधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भईरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भईरहेको र चिकित्सकको प्रेस्किप्सन बिना नै औषधि बिक्री वितरण गरिएको गुनासो आएपछि यसमा महानगरपालिकाले कडाई गरेको उनले बताएका छन् ।

साथै, अनुगमनको क्रममा नार्कोटिक औषधिहरुको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरुको आवश्यक अभिलेख नराख्ने गरिएको तथा गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको र महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्रसमेत नलिई औषधि पसल सञ्चालन गरिएको पाइएको बालेनले बताएका छन् ।

मेयर बालेनले यही महिना (मंसिर) को २९ गतेभित्र औषधिपसल सञ्चालनका सम्पूर्ण कार्यहरु कानुन बमोजिम गर्न निर्देशन दिएका छन् । साथै, काठमाडौं महानगरभित्र सञ्चालित औषधि पसलहरुले तोकिएको समयभित्र कानुन बमोजिम सुधारात्मक कार्यहरु नगरेको पाइएमा स्थानीय सरकार ऐन तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐनअनुसार औषधि पसल बन्द गर्नेसम्मको कारवाही गरिने चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*