किया मोटर्समाथि करोडौं डलर कर छलीको आरोप

२७ माघ २०८१, आईतवार ११:२८

काठमाडौं। दक्षिण कोरियाली अटो निर्माता किया मोटर्सलाई भारतमा कर छलीको आरोप लागेको छ। भारतको चेन्नई भन्सार कार्यालयले १५५ मिलियन डलर कर तिर्नुपर्ने नोटिस गरेको छ। किया मोटर्सले भने यस आरोपलाई अस्वीकार गर्दै कानूनी रूपमा चुनौती दिने जनाएको छ।

भारतको भन्सार विभागले किया मोटर्सको कार्निभल मोडेलका पार्टपुर्जा विभिन्न लटमा छुट्टाछुट्टै बन्दरगाहबाट आयात गरिएको भन्दै कर नियम उल्लङ्घन भएको दाबी गरेको छ। भन्सार नियमानुसार सिकेडी ढाँचामा एउटै ढुवानीमा आयात भएका कार पार्टपुर्जामा ३०।३५ प्रतिशत भन्सार कर लाग्छ। तर, छुट्टाछुट्टै कम्पोनेन्ट आयात गर्दा कम कर लाग्ने व्यवस्था छ।

किया मोटर्समाथि सिकेडी अन्तर्गत कर छल्ने आरोप लागेपछि कम्पनीले ३२ मिलियन डलर सुरक्षा रकम जम्मा गरिसकेको बताइएको छ। भारतीय अधिकारीहरूले जरिमाना र ब्याजसमेत गरी कुल दाबीको रकम दोब्बर हुन सक्ने अनुमान गरेका छन्।

केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड का अध्यक्ष सञ्जयकुमार अग्रवालले केही अटो निर्माताले सिकेडी अवस्थाका कार कम्पोनेन्टहरूको गलत वर्गीकरण गरी कम कर तिरेको दाबी गरेका छन्।

कियाको यो प्रकरण जर्मन अटो निर्माता फक्सवागनसँग मिल्दोजुल्दो रहेको बताइएको छ। फक्सवागनले स्कोडा कोडियाक, अडी ए३ र फक्सवागन टिगुआनजस्ता मोडेलका लागि छुट्टाछुट्टै भाग आयात गरेको आरोपमा भारत सरकारबाट उच्च भन्सार करको माग सामना गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*