कसूर–कसूरदार ठूलो–सानो नभनी अख्तियार झुक्ने–चुक्ने छैन

रामचन्द्र पौडेल, राष्ट्रपति
२८ माघ २०८१, सोमबार १०:४४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोग परिवारलाई बधाई तथा शुभकामना दिन चाहन्छु । देशमा भ्रष्टाचार क्षेत्रमा क्रियाशील रही सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दछु ।

नेपाल सरकारल भ्रष्टाचार निवारण गर्ने नियामक निकायका लागि आवश्यक कानून, दक्ष जनशक्ति र आधुनिक उपकरण लगायतका व्यवस्था गरी अख्तियारलाई अधिकारसम्पन्न बनाई शून्य भ्रष्टाचार सहनशीलतालाई प्रोत्साहन दिँदै आएको छ ।

देश तथा स्थानीय तहलाई भ्रष्टार नियन्त्रण सम्बन्धी रणनीति तथा कार्यायोजना ल्याउन जिम्मेवार बनाउनेमा जोड दिएको छ । वास्तममा यसलाई सार्थकता प्रदान गरी सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रुप दिन सबै प्रकारको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ ।

आयोगले शक्ति र पदको दुरुपयोग गरेमा कानूनी दायित्व र जवाफदेहिताबाट पन्छिन पाउँदैन भन्ने कुरा आम जनमानसमा विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । बास्तववमा बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भनेर संकल्प गर्ने हो भने यसले भ्रष्टाचारलाई जरैदेखि निर्मूृल पार्न सकिन्छ ।

लोकतन्त्रको सृदृढीकरण, आर्थिक विकास, सामाजिक न्याय, सुशासन र समृद्धि हाम्रो चाहना हो । सुशासन र पारदर्शीता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन।

नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनाताको विकास र हितलाई उच्च प्राथमिकतामा राख्दै देशको हित र कल्याण र अन्तराष्ट्रिय छविका लागि सदाचार, निष्पक्षता र निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ ।

नीतिगत, विधिगत र पद्दतिगत सुधारलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो ।

सत्ता शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्दति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउछ । सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरीका र प्रवित्तिमा समेत जटिलता थपिएको अहिलेको अवस्था छ । भ्रष्टाचारको प्रकृति र स्वरुप जसरी भइरहेको छ त्यस अनुसारको अनुसन्धार र अभियोजन प्रकृया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ ।

 

सरकारी ढुकुटी र बजेट र कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सधै चनाखो रहनुपर्छ । कानूनी राज्यको स्थापना र सुशानको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको अग्रणी भूमिकामा कुनै कसर बाँकी राख्दैन भन्नेमा मलाई विश्वास छ ।

ठूला प्रकृतिका सार्वजनिक खरिद प्रक्रियामा विसंगति देखिएको भनेर जुन चिन्ता व्यक्त भईरहेको छ, यसमा राज्यपक्ष र अख्तियार गम्भीर बनोस भन्ने मेरो चाहना छ । भ्रष्टाचार सम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि समस्या आइरहेकाले यसमा म सम्बन्धित पक्षको पनि ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर भएकाले त्यसमा उल्लेखित प्रावधान अनुरुप हाम्रा कानून र संयन्त्र परिमार्जन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

साथै राज्य र राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गरी यसको न्यूनीकरणमा जिम्मेबारीको बोधसहित भ्रष्टाचारमुक्त समाज र यसको प्रत्याभूतिका लागि ताप्पर्यता देखाउन जरुरी छ ।

कसैको दबाबमा वा प्रभावमा नपरी कसूर, कसूरदार ठूलो वा सानो नभनी आयोग अनुसन्धानमा झुक्ने छैन र चुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु ।
अन्त्यमा स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमूक्त राज्य निर्माणका लागि आगामी दिनमा आयोगले अझै प्रभावकारी ढङ्गले आयोगले काम गर्ने विश्वास पनि व्यक्त गर्दछु । (अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले व्यक्त गर्नु भएको मन्तव्यबाट)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*