सार्वजनिक खरिद प्रणाली सुधार र बिचौलिया अन्त्य हुनुपर्छः प्रमुख आयुक्त राई
२८ माघ २०८१, सोमबार ११:३९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक खरिद प्रणालीलाई प्रभावकारी बनाउन जोड दिएका छन्। सोमबार आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले खरिद योजनाबिनै हुने क्रियाकलाप रोक्न र बिचौलियाको प्रभाव अन्त्य गर्न आवश्यक रहेको बताए।
उनले राज्यको आर्थिक प्रणालीमा सुधार गर्दै खरिद व्यवस्थापनलाई पारदर्शी र परिणाममुखी बनाउनुपर्नेमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे।
राईले तीन तहका सरकारले समन्वयात्मक प्रयास गर्नुपर्ने र कानुन तथा संयन्त्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न जरुरी रहेको औंल्याए। उनले सार्वजनिक प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै नागरिकलाई केन्द्रबिन्दुमा राखेर सुधारका प्रयास गर्न आग्रह गरे।













