काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौँ । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको हो। वायु गुणस्तर सूचकांक (AQI) अनुसार १५१ भन्दा माथिको एक्यूआई अस्वस्थ मानिन्छ, जसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ।
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा भारतको राजधानी दिल्ली पहिलो स्थानमा रहेको छ। दिल्लीमा २०१ एक्यूआई मापन गरिँदा बङ्गलादेशको राजधानी ढाका दोस्रो स्थानमा १७० एक्यूआईसहित र पाकिस्तानको लाहोर तेस्रो स्थानमा १९० एक्यूआईसहित रहेको छ। काठमाडौंले चौथो स्थान ओगटेको छ, जसले दक्षिण एसियाली सहरहरूमा वायु प्रदूषणको गम्भीर अवस्थालाई उजागर गरेको छ।
पछिल्लो २४ घन्टामा नेपालकै सबैभन्दा प्रदूषित सहर पोखरा रहेको छ। पोखराको एक्यूआई ४७५ मापन गरिएको छ, जुन खतरनाक तहमा पुगेको छ। यसबाहेक भक्तपुर १९१, शंखपार्क १७९, रत्नपार्क १७२, खुमलटार १७०, भैंसेपाटी १६८, भरतपुर १६७, हेटौंडा १६२ र धनगढी १५७ एक्यूआई मापन गरिएको छ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआई राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ, र ३०१ भन्दा माथिको एक्यूआई खतरनाक मानिन्छ। विज्ञहरूले उच्च प्रदूषणले श्वासप्रश्वास, मुटु सम्बन्धी रोग र दीर्घकालीन स्वास्थ्य समस्यामा असर पुर्याउन सक्ने चेतावनी दिएका छन्।













