सांसद सूर्य थापाको गुनासो: ‘मिडियाकर्मीले बुम तेर्साएर तपाई हनुमान हो भने’

५ फाल्गुन २०८१, सोमबार १३:२९

काठमाडौँ । सांसद सूर्य थापाले प्रतिनिधि सभामा मिडियाकर्मीको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्। उनले आफूलाई मिडियाकर्मीले बुम तेर्साएर ‘तपाई हनुमान हो?’ भनेर प्रश्न गरेको गुनासो गर्दै संसदमा यस्तो व्यवहारप्रति आपत्ति जनाए।

संसदको सोमबारको बैठकमा बोल्दै सांसद थापाले पत्रकारहरूले गैर जिम्मेवार प्रश्न गर्ने तथा जनप्रतिनिधिहरुलाई आरोप लगाउने शैलीमा प्रश्न सोध्ने कार्यप्रति आपत्ति जनाएका हुन्। उनले भने, ‘सांसदहरुलाई कस्ता प्रश्न सोध्ने भन्ने कुरा संविधान र कानुनबमोजिम हुनुपर्छ कि पर्दैन? परिचालित भएजसरी कसैलाई आरोप लाग्ने गरी काम गर्ने पाइन्छ कि पाइँदैन?’

सांसद थापाले विशेष रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर संसदबाट बाहिरिदै गर्दा ‘तपाई हिटलर हो?’ भन्ने प्रश्न गरिएको प्रति पनि गम्भीर आपत्ति जनाए। उनले सो प्रश्नलाई असंवैधानिक र असंसदीय भन्दै यस्ता गैर जिम्मेवार प्रश्नहरु दोहोरिन नदिन संसद सचिवालयले आवश्यक पहल गर्नुपर्ने धारणा राखे।

थापाले थपे, ‘नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ? यस्तो प्रश्न गर्ने पत्रकारिता पद्धतिमा संविधानले स्वीकृति दिएको छ कि छैन?’ उनले यस विषयमा संसद सचिवालयको ध्यानाकर्षण गराउँदै जिम्मेवार पत्रकारिताको अभ्यास गर्न सबैलाई आह्वान गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*