अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल आज कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मीले जानकारी दिए ।
उदघाटन कार्यक्रमका क्रममा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने केही दिन अस्पतालमै रहने भएका छन् । मेयर आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी थप उपचार गरिने बर्न अस्पतालले जनाएको छ ।
मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएपछि उनी आज डिस्चार्ज भए पनि मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य भएलगत्तै अस्पतालबाट डिस्चार्ज गरिनेछ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मेयर आचार्यको स्वास्थ्य अवस्था समेत सुधारउन्मुख रहेको छ ।













