कुलमान घिसिङद्वारा स्पष्टिकरण पेश, मन्त्रालयको अधिकारमाथि प्रश्न

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले सोधेको २४ घण्टे स्पष्टिकरणको जवाफ पेश गरेका छन्। उनले मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने र पदबाट हटाउने अधिकार नभएको तर्क गरेका छन्।
मंगलबार मन्त्री खड्काले उनलाई पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै स्पष्टिकरण मागेका थिए। जवाफमा घिसिङले आफू मन्त्रिपरिषद्को निर्णयअनुसार कानुनी प्रक्रिया पूरा गरेर चार वर्षका लागि नियुक्त भएकाले मन्त्रालयले कारबाही गर्न नसक्ने बताएका छन्।
उनले कानुन व्याख्यासम्बन्धी ऐन, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, र नेपाल विद्युत् प्राधिकरणको सेवा शर्तसम्बन्धी विनियमावलीलाई आधार दिँदै आफ्नो सेवा अवधि समाप्त हुनुअघि हटाउन नमिल्ने उल्लेख गरेका छन्। साथै, आफूमाथि लगाइएका आरोपहरू मनोगत भएको दाबी गरेका छन्।
उनले आफ्नो कार्यकालमा देखिएको प्रगति सूचकांक नै आफूले गरेको कामको प्रमाण भएको बताएका छन्। ‘आत्मगत रूपमा जवाफ चित्तबुझ्दो नभएको भन्दै पुनः स्पष्टिकरण मागिनु कानुनी र न्यायिक सिद्धान्तविपरीत छ,’ उनले भनेका छन्।
घिसिङले मन्त्रीलाई प्रतिप्रश्न गर्दै, ‘मेरो पूर्व स्पष्टिकरण के कारणले चित्तबुझ्दो भएन?’ भनी सोधेका छन्। साथै, स्पष्टिकरण माग्दा कुनै ठोस आधार र कारण नखुलाइएको भन्दै यसले उचित प्रतिवादको मौका नदिएको तर्क गरेका छन्।
kulman-jawaf












