१५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने व्यवस्था लागू गर्ने तयारीमा नेप्से

२० फाल्गुन २०८१, मंगलवार २०:१०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अन्तिम कारोबार मूल्य तय गर्न मागेको अनुमति धितोपत्र बोर्डले स्वीकृत गरेको छ। यस अघि नेप्सेले अन्तिम कारोबार मूल्यको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य तय गर्ने निर्णय गरेको थियो।

नेप्सेको सञ्चालक समिति बैठकले उक्त निर्णय गर्दै धितोपत्र बोर्डको स्वीकृति मागेको थियो। बोर्डले नेप्सेले मागेको उक्त स्वीकृति स्वीकार गर्दै कार्यान्वयनमा लैजान निर्देशन दिएको बताइएको छ ।

यसअघि दोस्रो बजारमा अन्तिम समयमा जुन मूल्यमा कारोबार हुने गरेको थियो। सोही मूल्यबाट भोलिपल्ट कारोबार सुरु गराउने गरेको थियो। तर अब नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने छ। अब दुई बजेर ४५ मिनेट देखि तीन बजेसम्म हुने कारोबार मूल्यहरूको भारित औसत मूल्य नै भोलिपल्टको पहिलो कारोबार मूल्य हुने छ। जसको २ प्रतिशत तल वा माथि लगानीकर्ताले आदेश दाखिला गर्न सक्ने छन्।

पछिल्लो समय अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गति असाध्यै धेरै बढेको थियो। हरेक दिन जसो कुनै न कुनै कम्पनीमा यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो। खास गरी यस अघि अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने भएकोले यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो।

क्लोजिङ प्राइस र दिनभरिमा बढ्न सक्ने प्रतिशतको लुप होलमा स्पेकुलेटरहरुले खेल्ने गरेका थिए। नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारोबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गर्थे। त्यो पनि असाध्यै कम कित्ता शेयरको कारोबारमा। दिनभरि पुनः तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै १० प्रतिशत बढाउने गरिन्थ्यो। जसले एकै पटक अघिल्लो कारोबार र पछिल्लो कारोबार मूल्यमा आठ प्रतिशतसम्मको फरक पर्ने गरेको भेटिनु सामान्य जस्तै बनेको थियो।

तर अब एमकेटी फिचर जुन प्रयोजनको लागि उपलब्ध गराइएको हो। त्यसको लागि मात्रै प्रयोग हुने छ। अन्तिम मिनेटमा एमकेटी गरेर शेयर किने वा बेचे पनि त्यसको अर्थ हुने छैन। अन्तिम मूल्य भारित औसतमा नै तय हुने छ। जसले यसअघि अन्तिम मूल्य कायम गराउनकै लागि गरिने एमकेटीको अभ्यास अन्त्य हुँदै जाने छ। तर यति भन्दा भन्दै पनि कारोबारीले भारित औसत गणना विधिमा समेत लुप होल खोज्न सक्छन्। जसमा अहिले सम्भावित लुप होल भनेको अन्तिममा धेरै ठुलो कित्ता कारोबार गराएर मूल्य माथि राख्न सक्ने सम्भावना छ। तर त्यसो गर्नको लागि ब्रोकरेज र समयको कारणले त्यति सजिलो भने हुने छैन। तर त्यसो गर्न सक्ने सम्भावना भने हुन सक्छ।

अन्तिम कारोबार मूल्य तय गर्ने विधि अपनाउन लागिएको विषय भने नयाँ होइन। तर कार्यान्वयन भने पहिलो पटक हुन लागेको हो। नेप्सेको धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ मा यो व्यवस्था पहिले देखिनै छ। उक्त विनियमावलीको विनियम ११ मा कारोबार सञ्चालन सम्बन्धी व्यवस्था छ। जसको (१)को (ग)मा अन्तिम कारोबार सत्रको बारेमा उल्लेख छ। जुन अपराह्न तीन बजेदेखि तीन बजेर पाँच मिनेटसम्म सञ्चालन हुने उल्लेख छ। तर उक्त समय नेप्सेले परिवर्तन गर्न सक्ने पनि छुट विनियमावलीले दिएको छ। सोही कारण नेप्सेले पौने तीन बजेदेखि तीन बजेसम्मको समय लिन लागेको हो। विनियमावलीमा समेत औसत गणनाको लागि नेप्सेले समय तथा कारोबार सङ्ख्या तोक्न सक्ने भनेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*