भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक

१७ बैशाख २०८२, बुधबार १७:३७

काठमाडौ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’, हाल त्यही सम्बन्ध विखण्डनको मोडमा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको नेतृत्वमा बढेको अपारदर्शिता, स्वेच्छाचारिता र गुटबन्दीले गर्दा बैंक भित्र आन्तरिक द्वन्द्व चुलिएको छ । संस्थापक शेयरधनीहरू आक्रोशित छन्, बोर्ड भित्र असन्तुलन देखिन थालेको छ र सीईओको चरित्रमा नै गम्भीर प्रश्न उठेको छ ।

सीईओ कडेलमाथि खास गुटको मात्र विकास, आफ्ना निकटका संस्थापकहरूलाई पोषण र अन्यलाई निरन्तर उपेक्षा गर्ने आरोप लागेको छ । बैंकको अभ्यन्तरमा केही व्यक्तिहरूलाई विशेष अधिकार, भ्रमण सुविधा, होटल खर्च र प्रोत्साहन भत्ता दिई आफू पक्षधर बनाउने सीईओको शैलीले समग्र संस्थागत सन्तुलन गुमेको देखिन्छ ।

बैंकको गहिरिंदो आन्तरिक कलहबारे जानकार स्रोतहरू भन्छन्, ‘सीईओले आफ्नो अनुकूल नबोल्ने संस्थापक र सञ्चालकहरूलाई सिधा बेवास्ता गर्छन्, प्रत्यक्ष रूपमा निषेध गर्छन् र कहिलेकाहीं त बोर्ड बैठकमा नै अपमानजनक व्यवहार देखाउँछन् ।’ सीईओको यस्तो व्यवहारकै कारण संस्थापकहरू बैंकबाट टाढिँदै गएको देखिएको छ ।

कडेलको स्वेच्छाचारिता चरममा पुगेको आरोप छ । बैंकको सामान्य रणनीतिक छलफलदेखि ठूलो वित्तीय निर्णयमा समेत सीईओ आफैले सबै ठेके राख्न खोज्ने प्रवृत्तिका कारण व्यवस्थापन तहमा असहजता फैलिएको छ । सीईओका कृपापात्र कर्मचारीहरू मात्र अगाडि बढ्ने, बाँकीलाई मानसिक दबाब दिने, स्थानान्तरणको डर देखाउनेजस्ता गतिविधि आम अभ्यास बनेको स्रोतको भनाइ छ ।

सीईओ कडेलको मनपरी र भ्रष्टाचारको असर सिधै संस्थापक शेयरधनीहरूमा परेको देखिएको छ । २०८० सालमा मात्रै १३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बजारमा बिक्रीमा आएको तथ्यांकले यसलाई पुष्टि गर्छ । यसबीचमा सुरेश कुमार केडिया, लिला देवी शारदा, संजय कुमार केडिया, निखिल गोयल, प्रदीप कुमार केडिया, मदनलाल केडिया र बिनोद कुमार खेतान जस्ता ठूला संस्थापकले आफूसँग भएको शेयर ठूलो परिमाणमा बिक्री गरिसकेका छन् ।

सीईओको एकपक्षीय निर्णय, भित्री राजनीति र गुटगत ढाँचाका कारण संस्थापकहरू निराश हुन पुगेको स्रोतहरूको भनाइ छ । एक जना संस्थापक शेयरधनीका अनुसार, ‘बैंकमा अब न त संस्थापकको सम्मान छ, न विचार सुनिन्छ, न वित्तीय पारदर्शिता छ । सीईओ जे गर्छन्, त्यो नै अन्तिम आदेश हुन्छ ।’

बैंकले आफ्ना शेयरधनीहरूलाई विगत केही वर्षदेखि औसतभन्दा कम लाभांश दिँदै आएको छ । पछिल्लो दुई वर्षमा ४ प्रतिशत मात्रै लाभांश दिएर बैंकले ढाकछोप गर्न खोजेको देखिन्छ । लाभांश घट्नुमा बजार अवस्था मात्रै हैन, सीईओ कंडेलको कार्यशैली, गम्भीर निर्णयहरूमा गरिएको गल्ती र संस्थागत अनियमितता जिम्मेवार रहेको स्रोतको दाबी छ ।

पछिल्लो समय बैंकको रणनीतिक स्थिति पनि कमजोर हुँदै गएको छ । बैंकका विभिन्न शाखाहरूमा भएको कार्यशैली, कर्जाको वितरण प्रणाली र असुली प्रक्रियामा प्रश्न उठ्न थालेका छन् । विशेषतः जनकपुरधामको मिल्स एरियास्थित शाखामा २०८० साल पुष महिनामा भएको घटनाले सीईओको भूमिकामाथि थप आशंका जन्माएको हो । उक्त शाखाले कर्जा असुलीको नाममा ग्राहकको सम्पत्ति हिनामिना गरेको उजुरी परेपछि मामला मिलाउन खोजिएको थियो, जसमा कंडेलको मौन समर्थन रहेको आरोप लागिरहेको छ ।

बैंकको वित्तीय सूचक पनि अब सुधारभन्दा क्षयतर्फ उन्मुख देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा घटेर १ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । अधिकांश प्रतिस्पर्धी बैंकहरूले नाफा वृद्धि गरिरहेका बेला सिद्धार्थ बैंकको नाफा घट्नु आफैँमा सीईओको नेतृत्वको असफलता हो ।

बैंकको खराब कर्जा पनि उल्लेखनीय रुपमा बढेको छ । गत वर्ष चैत मसान्तसम्ममा २.५२ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोहि अवधिमा बढेर ४.०४ प्रतिशत पुगेको छ । स्रोतहरूका अनुसार सीईओ कंडेलले आफ्ना नजिकका व्यापारी र लगानीकर्ताहरूलाई जोखिमपूर्ण कर्जा प्रवाह गरेका कारण खराब कर्जा झन्डै दोब्बर भएको हो । कर्जा वितरणमा पारदर्शिता नरहेको, एकै व्यक्तिलाई पटक–पटक पुनःकर्जा दिइएको, धितोको मूल्यांकनमा मिलेमतो गरिएको जस्ता गम्भीर आरोप बैंक भित्र चर्चा भइरहेको छ । सीईओसँग नजिक रहेका केही सञ्चालक र कर्मचारीहरू नै लाभान्वित हुने गरी गरिएको निर्णयको परिणामस्वरूप बैंकको वित्तीय स्थिति कमजोर बन्न पुगेको छ ।

बैंक भित्रको यो आन्तरिक असन्तुलनले कर्मचारी मनोबलमा समेत नकारात्मक असर पारेको छ । सीईओप्रति असन्तुष्ट कर्मचारीहरू सरुवा मागेर अन्य शाखा जान चाहन्छन् भने केहीले बैंक नै छाड्न थालेका छन् । यो प्रवृत्ति बैंकका लागि दीर्घकालीन दृष्टिले गम्भीर चुनौती हो । यता, सीईओ कंडेल भने आलोचना र असन्तुष्टिलाई बेवास्ता गर्दै आफू अनुकुल रणनीति लाद्न उद्यत देखिन्छन् ।

सार्वजनिक कम्पनीको सीईओ भष्टाचार र गुटबन्दीमा लिप्त हुँदा समग्र वित्तीय प्रणालीमै नकारात्मक असर पर्न गरेको छ । बैंकको नेतृत्व पारदर्शी र उत्तरदायी नभए कम्पनी धराप पर्ने स्पष्ट देखिन्छ । सीईओ कंडेलकै कार्यशैलीकै कारण, अहिले अधिकांश संस्थापक शेयरधनीहरू बैंकबाट पूर्णरूपमा बाहिरिने तयारीमा छन् । अझ केही संस्थापकहरू त अन्य प्रतिस्पर्धी बैंकमा लगानी गर्ने मनस्थितिमा पुगेका छन् । यद्यपि, उनीहरूले खुलेर बोलेका छैनन्, तर भित्री असन्तुष्टि चरम अवस्थामा पुगेको छ ।

स्रोतअनुसार, ‘सीईओ कडेलले बैंकलाई निजी कम्पनी झैं चलाउँदै आएका छन् । यो सार्वजनिक संस्था हो भन्ने उनले बिर्सेको देखिन्छ ।’

यतिबेला बैंकको बजार मूल्य पनि घट्दो क्रममा छ । लगानीकर्ताहरूबीच पनि बैंकको पारदर्शिता, नेतृत्व र भविष्यप्रति विश्वास कमजोर बनेको छ । समग्रमा हेर्दा, संस्थापकहरूको पलायन, कर्मचारीको असन्तुष्टि, वित्तीय सूचकको क्षय, खराब कर्जाको बृद्धि, सीईओको गुटगत निर्णयशैली यी सबै लक्षणले सिद्धार्थ बैंकलाई अप्ठ्यारो मोडमा पु-याएको छ । उक्त गतिविधिमा बैंकका अध्यक्ष राहुल अग्रवालको समेत मौन समर्थन रहेको छ। सो सम्बन्धी जवाफका लागि सीइओ कडेलसँग सम्पर्क गर्ने खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् ।

One thought on “भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*