तीन महिनामा ४३ लघुवित्तले कमाए २ अर्ब नाफाः ७ कम्पनीको १० करोडमाथि, अझै ५ संस्था ऋणात्मक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमाससम्ममा सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूले २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। असोज मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४३ वटा लघुवित्त वित्तीय संस्थाले कुल २ अर्ब २ करोड ५५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएका हुन्।
यो नाफा गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा ०.९३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी लघुवित्तहरूले कुल २ अर्ब ६८ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
नाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा २७ करोड ३३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा कमाएको २६ करोड ९० लाख २ हजार रुपैयाँभन्दा १.६२ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा रहेको डीप्रोक्स लघुवित्तले २१ करोड ९९ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यसको नाफा गत वर्षको २० करोड २२ लाख १५ हजार रुपैयाँको तुलनामा ८.७६ प्रतिशतले बढेको हो।

त्यस्तै, जीवन विकास लघुवित्तले २० करोड १५ लाख १० हजार रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान कायम गरेको छ। कम्पनीको नाफा गत वर्षको १४ करोड ५८ लाख ५९ हजार रुपैयाँबाट ३८.१५ प्रतिशतले वृद्धि भएको छ।
नेशनल लघुवित्तले १९ करोड ५ लाख २८ हजार रुपैयाँ नाफा कमाउँदै चौथो स्थानमा रहँदा साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। नेशनल लघुवित्तको नाफा ३२.०५ प्रतिशतले बढेको छ भने साना किसान विकास लघुवित्तको नाफा १९.६४ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा सबैभन्दा उच्च नाफा वृद्धि गर्ने लघुवित्तमा एनएमबी लघुवित्त रहेको छ। कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख २५ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९७ लाख १० हजार रुपैयाँ पुर्याएको छ। यो गत वर्षको तुलनामा ३६९.२३ प्रतिशतको वृद्धि हो।
त्यस्तै, स्वाभिमान लघुवित्तको नाफा २१६.३८ प्रतिशतले बढेर २ करोड ५३ लाख ९६ हजार रुपैयाँ पुगेको छ। महिला लघुवित्तको नाफा ११५.९७ प्रतिशतले बढेर ४ करोड ३७ लाख २९ हजार रुपैयाँ, अभियान लघुवित्तको ११०.६२ प्रतिशतले बढेर १ करोड ७० लाख ८३ हजार रुपैयाँ र आत्मनिर्भर लघुवित्तको ८६.१४ प्रतिशतले बढेर २ करोड १३ लाख ३९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सूर्योदय वोमी लघुवित्तको नाफा ७३.६५ प्रतिशतले वृद्धि भई १० करोड ८४ लाख ४७ हजार रुपैयाँ पुगेको छ।
अर्कोतर्फ, केही लघुवित्तको नाफामा भने उल्लेख्य गिरावट देखिएको छ। सबैभन्दा धेरै नाफा घट्नेमा ग्रामीण विकास लघुवित्त रहेको छ। कम्पनीको नाफा गत वर्षको १२ करोड २० लाख २७ हजार रुपैयाँबाट घटेर ३ करोड ५ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ। यो ७४.९४ प्रतिशतको गिरावट हो।
त्यस्तै, धौलागिरि लघुवित्तको नाफा ७०.६० प्रतिशत, उपकार लघुवित्तको ६९.८६ प्रतिशत, गणपति लघुवित्तको ५८.६८ प्रतिशत र युनिक नेपाल लघुवित्तको ५४.४६ प्रतिशतले घटेको छ।
यता, समता घरेलु, सामुदायिक, आरम्भ चौतारी, नेरुडे मिर्मिरे र सीवाईसी नेपाल लघुवित्त भने समीक्षा अवधिमा घाटामा रहेका छन्। सीवाईसी नेपाल लघुवित्तले सबैभन्दा धेरै ७ करोड ४४ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको छ।











