बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कुम्भ मेला हङकङमा सम्पन्न, उच्च जोखिम क्षेत्रबाट बीमा कम्पनीहरुलाई नभाग्न आह्वान

काठमाडौं । बीमा सम्बन्धी विश्वव्यापी नियामक निकायहरुको साझा संस्था इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को दुई दिने वार्षिक सम्मेलन हङकङमा गत साता सम्पन्न भएको छ । उच्च जोखिमयुक्त क्षेत्रबाट बीमा कम्पनीहरुलाई नभाग्न आह्वान गर्दै सम्पन्न भएको छ ।
नेपालसहित विश्वभरबाट भेला भएका ६०० भन्दा बढी विज्ञहरू, नियामक निकायका प्रतिनिधिहरू र बीमा क्षेत्रका विशेषज्ञहरू सम्मिलित बार्षिक सम्मेलन यही नोभेम्वर १२ र १३ गते चीनको हङकङमा सम्पन्न भएको हो । आईएआईएसको वार्षिक साधारण सभा र विभिन्न समितिहरूको बैठकमा विश्वभरका १२० अर्धन्यायीय निकायका अधिकारीहरु तथा २०० भन्दा बढी आईएआईएसका सदस्यहरूको सहभागिता थियो ।
‘अन्तरसम्बन्धित जोखिमहरूको युगमा बीमाः उज्वल नतिजातर्फ उन्मुख’ भन्ने नाराका साथ सुरु भएको बार्षिक बैठकमा हङकङ सरकारकोतर्फबाट सक्रिय सहभागिता रहेको थियो भने आईएआईएसका कार्यकारी समितिका अध्यक्ष तोसियुकी मियोसीसहितका विश्वभरका नियामक निकायहरुको उपस्थिति रहेको थियो । नेपाल बीमा प्राधिकरण पनि आईएआईएसको सदस्य हो । बीमा प्राधिकरण प्रतिनिधि सो बैठकमा सहभागी भएका थिए ।
यस पटकको बार्षिक बैठकमा बीमा क्षेत्रका प्रमुख जोखिम तथा जोखिमका प्रवृत्तिहरू, बीमाको खाडल, कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बीमा क्षेत्रमा परिवर्तनकारी प्रभाव, र प्राकृतिक विपद्बाट हुने क्षति विरुद्ध सुरक्षाको खाडल फराकिलो हुँदै गएको अवस्थामा लचिलोपन निर्माण गर्न बीमाको भूमिका लगायतका एजेण्डाहरु गहन छलफलहरु भएका थिए । सबैभन्दा महत्वपूर्ण यस बर्षको बैठकमा बीमाको ग्याप अर्थात खाडलमाथि गम्भिर बिचार विमर्शहरु भएका थिए ।
हङकङ विशेष प्रशासनिक क्षेत्रका वित्तीय सेवा तथा कोष सचिव क्रिस्टोफर हुईले सबै सहभागीहरूलाई न्यानो स्वागत गरेका थिए । उद्घाटन मन्तव्यमा उनले अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन केन्द्रका रूपमा हङकङको रणनीतिक स्थितिलाई प्रकाश पार्दै जोखिम विविधिकरणहरुबारेमा चर्चा गरेका थिए ।
बार्षिक सम्मेलनमा कार्यकारी समितिका अध्यक्ष तोशियुकी मियोशीले विश्वभरका बीमा नियामकहरूको साझा उद्देश्य प्रभावकारी नियमन रहेको स्पष्ट पारेका छन् । अध्यक्ष मियोशीले बीमालेख धारकहरूका लागि राम्रो नतिजा ल्याउन र बीमा बजारलाई सुदृढ तथा लचिलो बनाउने उद्देश्य प्राप्त गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । आईएआईएसले विश्वभरमा रहेका बीमा सम्बद्ध नियामकहरूलाई अनुभव साटासाट गर्न, विभिन्न परिस्थितिमा कुन उपाय प्रभावकारी हुन्छन् भनी बुझ्न, तथा विभिन्न न्याय सम्पादन प्रक्रियाको नियमन अभ्यास र बीमा नतिजाहरूलाई सुदृढ पार्न एक महत्वपूर्ण मञ्च प्रदान गरेको बताउँदै सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए ।

सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा आईएआईएसका महासचिव गेर्री क्रोसले बीमा क्षेत्रको खाडलबारे चर्चा गर्दै जोखिमयुक्त क्षेत्रमा बीमाको पहुँच पुग्न नसक्नुमा केही कारणहरु लुकेको बताउँदै आईएआईएसले उच्च जोखिमयुक्त क्षेत्रबाट बीमा कम्पनीहरु भाग्ने मनसायलाई रोक्न साझा भूमिका तथा प्रतिबद्धता जरुरी भएको बताए । उनले उल्लेख गरेको ’खाडल’ (ग्याप) भन्नाले बीमाले नसमेटेको आर्थिक क्षतिको हिस्सालाई जनाउँछ । यसका पछाडि थुप्रै कारणहरू रहेको उनले बताएका छन् ।
उनले भने, ‘सम्भवतः बीमा शुल्क भुक्तानी क्षमताको आधारमा पोलिसी होल्डरले व्यहोर्न कठिन पर्न सक्छ, आर्थिक अवस्था राम्रो भएको तर आर्थिक नोक्सानी व्यहोरेका सम्भावित बीमितहरुले जोखिम प्रकार बुझ्न सकेका छैनन, अर्थात उनीहरु सूचनाबाट टाढा छन् वा बुझ्न सकेका छैनन कि बीमाले उनीहरुलाई कसरी राहत दिन वा सहयोग गर्न सक्छ र उनीहरुलाई यतिसम्म विश्वास छैन कि आवश्यक परेको बेला बीमाले सहयोग गर्न सक्छ भनेर । यसभित्र विभिन्न कारणहरुको भूमिका छ ।’
जोखिमयुक्त क्षेत्रमा बीमा कम्पनीहरुलाई भाग्ने अवस्थाबाट रोक्न आईएआईएसले भूमिका खेल्नुपर्ने बताए पनि महासचिव क्रोसले बीमा कम्पनीहरुलाई कुन क्षेत्रमा व्यवसाय गर्न जाऊ भनेर भन्ने काम नियामक निकायहरुको नभएको स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) का महासचिव गेरी क्रसले बीमाको पहुँचमा किन खाडल देखिएको छ र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन नियामकहरू केन्द्रित रहने बताएका छन् ।
यस बर्षको आईएआईएसको वार्षिक बैठकमा केही महिनाअघि नेपालको गएको भिषण बाढी पहिरो लगायतका अन्यत्र गएका बाढी पहिरोका समस्याहरूको समाधान स्थानअनुसार फरक हुने क्रसले बताए । आईएआईएसले बीमा कम्पनी, नियामक र अन्य साझेदारहरूलाई जोखिमका लागि सुलभ मूल्य निर्धारण गर्न मद्दत गर्न सक्ने तर्क उनले अघि सारेका छन् । ‘नियामकहरूले वित्तीय साक्षरता तालिमलाई सहयोग गर्न सक्छन् भने बीमा कम्पनीहरूले ती जोखिम न्यूनीकरणका उपायहरूलाई समेट्ने खालका बीमा योजनाहरू ल्याउन सक्छन्’, क्रोसले भने ।
पत्रकार सम्मेलनमा उपस्थित नियामकहरूले न्यून बीमा (अन्डर–इन्स्योरेन्स) को समस्या समाधानका लागि फरक फरक उपायहरु सुझाएका छन् । क्रसका अनुसार यसको प्रगति सुलभ मूल्य निर्धारण, जोखिम न्यूनीकरण र दाबी भुक्तानीप्रतिको जनविश्वासमा निर्भर गर्ने तर्क उनले अघि सारेका छन् ।
सोही पत्रकार सम्मेलनमा हङकङको बीमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्लेमेन्ट चेउङले हङकङ अब नियम बनाउने चरणबाट कार्यान्वयनको चरणमा प्रवेश गरिरहेको बताए । सिफारिस (रेफरल) सम्बन्धी व्यवस्था आफैँमा गैरकानुनी नभएको र कतिपयले वास्तविक मूल्य पनि सिर्जना गर्ने उनले बताए ।
प्राधिकरणले सार्वजनिक निर्देशिकाहरू प्रकाशन गर्नुका साथै सिफारिस शुल्कमा कडा सीमा तोकेको छ र सिफारिस व्यवसायलाई इजाजतपत्र तथा नियन्त्रणको दायरामा ल्याएको छ । पर्याप्त प्रमाण भेटिएका ब्रोकरहरूमाथि प्राधिकरणले मुद्दा समेत चलाएको छ । नियमहरू कार्यान्वयन भइरहेका छन् भन्ने देखाउन सन् २०२६ लाई कार्यान्वयनको वर्षका रूपमा लिइएको हङकङ बीमा प्राधिकरणका सिईओ चेउङले बताए ।
-तस्विर सौजन्यः हङकङ बीमा प्राधिकरण











