सञ्चयकर्तालाई कर्मचारी सञ्चय कोषले सवारीसाधन खरिद गर्न सापटी दिने

३० कार्तिक २०८३, सोमबार १७:०९

काठमाडौँ ।  कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई लक्षित गरी सवारीसाधन खरिदका लागि सापटी सुविधा सञ्चालनमा ल्याएको छ। कोषमा नियमित रकम जम्मा गर्दै आएका सञ्चयकर्ताले अब चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सापटी लिन पाउने भएका छन्।

कोषले ‘सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२’ अनुसार हलुका सवारीसाधन खरिदका लागि सापटी उपलब्ध गराउन सुरु गरेको हो। सोमबार सार्वजनिक सूचना जारी गर्दै कोषले नयाँ सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।

नयाँ व्यवस्थाअनुसार योग्य सञ्चयकर्ताले कार, मोटरसाइकल तथा विनियमावलीले तोकेका अन्य हलुका सवारीसाधन खरिदका लागि कोषबाट सापटी लिन सक्नेछन्। यससँगै सञ्चयकर्ताले सवारीसाधन खरिदका लागि वित्तीय स्रोत जुटाउने थप विकल्प पाएका छन्।

कोषले विभिन्न प्रकारका सापटी तथा वित्तीय सुविधा उपलब्ध गराउँदै आएकोमा सवारीसाधन खरिदका लागि पनि सापटी दिने व्यवस्था थप गरेको हो। यसबाट व्यक्तिगत प्रयोजनका लागि मोटरसाइकल वा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्ने योजना बनाएका सञ्चयकर्तालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कोषका अनुसार उक्त सापटी सुविधा ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभागबाट उपलब्ध हुनेछ। सापटी लिन इच्छुक सञ्चयकर्ताले तोकिएको प्रक्रिया पूरा गरी उक्त विभागमा आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*