सरकारी रकम मिलिमतोमा खाने तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कुमारी बैंकका तत्कालिन कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैङ्कको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत कम्प्युटर अपरेटर शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । तर, त्यसरी उठाएको रकम बैङ्कमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा मिति २०८० साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा सङ्कलन भएको कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० मात्र अस्पतालको खातामा जम्मा भएको देखिएको अख्तियारले जनाएको छ । बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ ।
उनीहरू तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।














