साँगा–धुलिखेल सडक निर्माणले गति लियो, मंसिरभित्र मुख्य काम सक्ने लक्ष्य

काठमाडौं । थपिएको समयसीमाभित्र पनि सडक विस्तार पूरा हुन नसकेपछि अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल खण्डमा मुख्य निर्माण कार्यलाई तीव्रता दिइएको छ। आयोजनाले आगामी मंसिर २३ गतेसम्म प्रमुख काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।
काभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रमा पछिल्ला दिनमा ढल व्यवस्थापन र पुरानो कालोपत्र हटाएर नयाँ कालोपत्र गर्ने काम भइरहेको छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर छ लेनमा विस्तार गरिँदै छ।
आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डमा हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ। यस खण्डको ७.९ किलोमिटरमध्ये साढे ६ किलोमिटर सडकमा चार लेनतर्फ पहिलो तहको कालोपत्र भइसकेको छ। बाँकी डेढ किलोमिटरमा कालोपत्र गर्न बाँकी रहेको छ।
यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको थियो। २०७९ मंसिर २७ मा भएको सम्झौताअनुसार २०८२ मंसिर २५ भित्र काम सक्नुपर्ने भए पनि निर्धारित अवधिमा ६० प्रतिशत मात्रै प्रगति भएपछि एक वर्ष म्याद थपिएको थियो। थपिएको अवधि आगामी मंसिर २३ गते सकिँदैछ।
भक्तपुरतर्फ सूर्यविनायक–साँगा खण्डमा भने निर्माणको प्रगति ५४ प्रतिशत छ। आयोजनाका अनुसार यस खण्डमा सडक विस्तारको ठेक्का तुलनात्मक रूपमा ढिलो सम्झौता भएकाले प्रगति कम देखिएको हो। यहाँ साइड स्ट्रक्चरको काम लगभग पूरा भएको छ भने छ लेनमा डेढ किलोमिटर सडकको पहिलो तहको कालोपत्र सकिएको छ। साँगाको अन्डरपासमा पनि दुई लेनमा १.२ किलोमिटर सडक कालोपत्र गरिएको छ।
७.३ किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डको ठेक्का २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा लिएको थियो। यस खण्डको सम्झौता अवधि आगामी फागुनमा सकिँदैछ। निर्माण कम्पनीले मुख्य काम समयमै पूरा गरी बाँकी कामका लागि म्याद थपेर २०८४ असारसम्म सम्पूर्ण आयोजना सम्पन्न गर्न सकिने जनाएको छ।
सडक विस्तारले गति लिए पनि जगाती खोला, महादेवखोला र पुण्यमाता खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या कायमै छ। पुल निर्माणस्थलमा खाल्डाखुल्डी र सवारी चापका कारण विशेषगरी रातिको समयमा मालवाहक सवारीसाधन आवागमन प्रभावित हुने गरेको छ।











