कोशी ब्यारेजको विकल्पमा ४३ अर्बको नयाँ पुल बनाइँदै, पूर्व–पश्चिम राजमार्गको १४ किलोमिटर दूरी घट्ने

१३ कार्तिक २०८३, शुक्रबार १७:०१

काठमाडौं । सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेजको विकल्पमा नयाँ पुल निर्माणको तयारी अघि बढाइएको छ। सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म करिब तीन किलोमिटर लामो पुल र त्यसलाई जोड्ने ४३ किलोमिटर सडक निर्माण गर्ने योजना अघि सारिएको हो।

सडक विभाग आयोजना निर्देशनालयका अनुसार परियोजनाको अनुमानित लागत ४३ अर्ब रुपैयाँ छ। एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्ने प्रस्ताव गरिएको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन केही वर्षअघि नै तयार पारिएको थियो।

नयाँ पुल र सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी करिब १४ किलोमिटरले छोटिनेछ। यसले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग उपलब्ध गराउनुका साथै पूर्वी क्षेत्रको यातायात व्यवस्थापनमा सहजता ल्याउने जनाइएको छ।

निर्माण अघि बढाउन अहिले प्राविधिक तयारी र आवश्यक प्रक्रियागत काम भइरहेको निर्देशनालयले जानकारी दिएको छ। तर प्रस्तावित सडक तथा पुलको क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय प्रभाव र कानुनी स्वीकृतिसम्बन्धी विषय भने टुंग्याउनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*