काठमाडौंमा नक्कली सुन देखाएर सोझासाझालाई ठगी गर्ने गिरोह पक्राउ

१४ श्रावण २०८२, बुधबार १३:४२

काठमाडौं । राजधानी काठमाडौंमा नक्कली सुन देखाएर मानिसहरूलाई झुक्याई गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली दुधौली–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ मा बस्ने ४७ वर्षीय बिमल तामाङ, सिन्धुली दुधौली–१२ घर भई बूढानीलकण्ठ नगरपालिका बालुवाखानीमा बस्ने ३९ वर्षीय लालबहादुर घिसिङ र खोटाङ मझुवागढी–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल बिक रहेका छन्।

प्रहरीका अनुसार तामाङ र घिसिङले नक्कली सुन तथा विदेशी मुद्रा देखाई ठगी गर्ने काम गर्दै आएका थिए भने गदालले त्यस्तै तरिकाले लुटिएको सुन खरिद गर्ने गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानका कम्तीमा ६ जनालाई झुक्याएर नक्कली सुनलाई सक्कली हो भन्दै ठगेको खुलेको छ।

प्रहरीका अुनसार उनीहरूले नक्कली सुन देखाएर आफूलाई एकदमै समस्या परेकाले अहिले यो सुन राखेर नगद पैसा वा गरगहना अन्य जे छ दिनुहोस् भन्दै सोझासाझालाई ठगी गर्ने गरेका थिए। उनीहरूले विशेष गरी महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको अनुसन्धानमा खुलेको छ

उनीहरूले साउदी, रियाल लगायतका विदेशी मुद्रा बजार मूल्यभन्दा सस्तोमा दिने लोभ देखाएर पनि ठगी गर्ने गरेको खुलेको छ। प्रहरीका अनुसार उनीहरूले नक्कली विदेशी नोटको तल र माथि केही सक्कली नोट राखेर बजार मूल्यभन्दा कम मूल्यमा दिन्छु भन्दै प्रलोभन देखाएर साट्न बोलाएर लुटपाट गरी भाग्ने गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातु १७.६ ग्राम, नक्कली सुनका चारवटा टुक्रा र ठगीमा प्रयोग गरिएको ना ५७ प १५१६ नम्बरको स्कुटर बरामद गरेको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*