भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् ।
दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ। चीन निकट मानिएका प्रधानमन्त्री ओलीलाई भारत भ्रमण जानु अघि चीन जानुलाई निकै चासोको रुपमा हेरिएको छ ।
नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारको रूपमा रहँदै आएको छ। एससिओको स्थापना २००१ मा भएको हो जहाँ बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश सदस्य छन्।
नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू भने एससिओमा संवाद साझेदार छन्।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।













