जीवन बीमा व्यवसायले फेरिएको शिवकुमार श्रेष्ठको जिन्दगी, परिश्रमको भट्टीबाट यसरी उदाए

शिवकुमार श्रेष्ठको पहिचान दिनुपर्दा उनी स्वरोजगार यातायात ब्यबसायी हुन् यतिले मात्र उनको परिचय पुग्दैन । पछिल्लो समय उनको बलियो पहिचान बीमाकर्मीका रुपमा स्थापित हुँदै गइरहेको छ । उनी आफुलाई बीमाकर्मी भन्न रुचाउछन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी म्यानेजरका रुपमा कार्यरत शिवकुमार श्रेष्ठको पछिल्लो समयको सक्रियता धेरै नै बढेको छ । यो आर्थिक वर्षको शुरुको महिना साउनमा मात्रै १३ वटा पोलिसि बिक्रि गर्न सफल भएका छन् । जुन सफलता चानचुने मेहनतबाट सम्भव छैन ।
रिलायबल नेपाल लाइफको हातिगौंडा शाखामा कार्यरत श्रेष्ठले आफु बीमा अभिकर्ताको रुपमा बीमा व्यवसायमा एजेन्सी म्यानेजर नवराज भण्डारीको सल्लाह र पहलमा आएको बताएका छन् ।
उनले भने, ‘आफु स्वरोजगार यातायात मजदुरका रुपमा बुढानिलकण्ठबाट रत्नपार्क रुटमा काम गर्न सुरु गरेपछि उनै नवराज भण्डारी सरले रिलायबल इन्स्योरेन्स कम्पनीमा अभिकर्ताका रुपमा काम गर्न सल्लाह दिनु भएपछि तालिममा जोडिएको थिए ।’ उनले थपे, ‘नवराज भण्डारीले त्यो सल्लाह नदिनु भएको भए म यो स्थानमा हुने थिईन।’
अभिकर्ताको तालिम लिएकै वर्ष आफ्नै मेहनतको बलले एजेन्सी म्यानेजर बनेका श्रेष्ठ यतिबेला अब्बल एजेन्सी म्यानेजरको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् । हाल उनले आफुलाई कम्पनीको सिनियर एजेन्सी म्यानेजर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीको सचिव र सफल यातायात व्यवसायीको रुपमा आफुलाई स्थापित गरेका छन् ।

तर, यो सफलता, यो व्यवसायीक उचाई र सामाजिक छबि निर्माणको यो महान यात्रामा भने शिवकुमार श्रेष्ठको लामो संघर्षको कथाहरु जोडिएका छन् । दुःखका थुप्रै आरोह अवरोहहरुका व्यथाहरु छन्, दुइछाक टार्नका लागि विदेशी भूमिमा बगाएका पसिना र रगतका सुवासहरु छन् । त्यही परिश्रम र मेहनतको भट्टीमा पोलिएर आशा लाग्दा, भरलाग्दा र संघर्षशील शिवकुमार श्रेष्ठ बनेका छन ।
३६ वर्ष अघि दोलखा जिल्लाको लाकुरी गाबिस वडा नम्बर २ मा बुबा पोषक बहादुर श्रेष्ठ र आमा चित्र कुमारी श्रेष्ठको कोखबाट जन्मिएका भैसेपाटी ललितपुरका स्थायीबासी हुन् शिव कुमार श्रेष्ठ । उनले २०६१ सालमा सुर्के माध्यामिक बिध्यालयबाट एसएलसीको परिक्षा दिएपछि आर्थिक कारणले नै बाँकी शिक्षालाई अघि बढाउन नपाएको उनी बताउछन् ।
श्रेष्ठले काठमाडौं आएर होटलमा भाडा माझ्ने गरे । त्यो कामले उनका सपना र हुटहुटीलाई पुरा गर्न सकेन । समय फेरिदै गयो गरिबीले पाठ सिकाउदै गयो । समय र परिस्थितिलाई बुझि उनले काम परिवर्तन गरेर कोलगेट वितरण कम्पनीमा सेल्सम्यानको रुपमा ललितपुर जिल्ला भरीका शहरबजार घुमेर सामान बिक्रि गर्ने काम गरेको उनले सुनाए ।
सेल्सम्यानको कामले समेत उनलाई सन्तुष्ट बनाउन सकेन । त्यसपछि वैदेशिक रोजगारीमा जाने निधो गर्दै बहराईन गए । त्यसपछि पुनः दुबइ गए र पाँच वर्ष प्रवासमै कठिन जीवन बिताए । सोँचे जस्तो विदेश नभएपछि उनी स्वदेश फर्किए । विदेशमा कमाएको केही पैसा तथा धेरै अनुभव र तितो कथाहरुलाई संगाल्दै २०७१ सालमा जेबियल्स फाईनान्समा ऋृण गरि माइक्रोबस खरिद गरि स्वरोजगार मजदुरका रुपमा आफै सहचालक हुदै चालक बन्न सफल भए ।

२०७४ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ माईक्रो बस ईकाई कमिटिको सदस्यका रुपमा श्रमिकहरुको नेतृत्व गर्दै आएका उनी बुढानिलकण्ठ इकाईको सचिवहुँदै हाल बागमती प्रदेश कमिटिको सचिवसम्म बनेर प्रदेशभरीका श्रमिकहरुको अगुवाई समेत गरिरहेका छन् ।
ऋणमा लिएको माइक्रोबसको ऋण चुक्ता भइसकेको छ । बुवा पोषक बहादुर र दाइ दुर्ग बहादुर श्रेष्ठको साथ र सहयोगमा ललितपुरको भैसेपाटीमा घर समेत बनाई सकेका शिवकुमार श्रेष्ठ सबैलाई समान ब्यावहार गर्दछन्। न्यायको पक्षमा डटेर लड्ने स्वभावका श्रेष्ठ स्पष्ट र खरो स्वभावका छन् ।
कुनैपनि व्यक्तिको सफलतामा त्यो व्यक्तिको कामप्रतिको लगाव, निरन्तरता र अविचलित सङ्घर्ष नै हो भन्ने राम्रो उदाहरण बनेका छन् शिवकुमार श्रेष्ठ । बीमा व्यवसायका साथ–साथै आफ्नो यातायात व्यवसायलाई समेत आत्मसाथ गरी अघि बढीरहेका छन् । उनले पछिल्लो समय सबै चिनजानका मानिसहरुलाई बीमाको महत्व बुझाउँदै अघि बढीरहेका छन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र मानिसहरुलाई बीमा गर्न विश्वस्त गर्न सक्ने क्षमताले भरीपूर्ण रहेका श्रेष्ठ बीमा अभिकर्ता पेशामा जमेका छन् । उनको लागी यो व्यवसाय निकै लाभदायी बन्न सफल भएको छ । जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै आफ्नो मिहिनेत र परिवारको उल्लेख्य साथले उनी अहिले सफलताको राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् ।













