सरकारको बजेट खर्च २३ प्रतिशत मात्रै, राजस्व संकलन २७ प्रतिशतले बढ्यो

२४ कार्तिक २०८३, मंगलवार ०९:०१

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल विनियोजित बजेटको २३.११ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च २२.१२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कात्तिक २२ गतेसम्म ४ खर्ब ९० अर्ब ९८ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ४ खर्ब ३४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ खर्च भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बजेटको आकार ८.१६ प्रतिशतले बढेको छ । खर्च भएको रकम पनि ५६ अर्ब ६६ करोड रुपैयाँले बढी हो । तर बजेट खर्चको प्रगति भने ०.९९ प्रतिशत विन्दुले मात्रै बढेको छ । यसले बजेटको आकार बढे पनि खर्च कार्यान्वयनको गति अपेक्षाकृत तीव्र हुन नसकेको देखाउँछ ।

खर्चको शीर्षकगत अवस्था हेर्दा चालु खर्च सबैभन्दा बढी भएको छ । सरकारले चालु शीर्षकमा १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेकोमा कात्तिक २२ गतेसम्म ३ खर्ब ४६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल विनियोजनको २७.२५ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चालु खर्च २४.८३ प्रतिशत थियो । त्यसबेला ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा २ खर्ब ९३ अर्ब २२ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो ।

पुँजीगत खर्चको अवस्था भने अझै कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ३२ अर्ब ४३ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो विनियोजित बजेटको ७.५२ प्रतिशत हो । गत वर्षको सोही अवधिमा पुँजीगत खर्च ५.७८ प्रतिशत थियो । त्यसबेला ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएकोमा २३ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खर्च भएको थियो । यस वर्ष पुँजीगत खर्चको प्रगति १.७४ प्रतिशत विन्दुले बढे पनि चार महिनाको अवधिमा विनियोजित रकमको १० प्रतिशतसमेत खर्च हुन सकेको छैन ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा १ खर्ब १२ अर्ब ३४ करोड १ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको २६.५८ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा यस शीर्षकमा ३१.३४ प्रतिशत खर्च भएको थियो । त्यसबेला ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोमा १ खर्ब १७ अर्ब ५८ करोड ४० लाख रुपैयाँ खर्च भएको थियो । यस वर्ष वित्तीय व्यवस्थातर्फको खर्च अघिल्लो वर्षको तुलनामा ५ अर्ब २४ करोड रुपैयाँले घटेको छ ।

बजेट खर्चमा अपेक्षाकृत सुधार नदेखिए पनि सरकारको राजस्व संकलनमा भने उल्लेख्य वृद्धि भएको छ । कात्तिक २२ गतेसम्म सरकारले ३ खर्ब ६६ अर्ब २४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २३.१८ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो, जुन वार्षिक लक्ष्यको १९.४३ प्रतिशत थियो ।

गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ७८ अर्ब ६८ करोड १६ लाख रुपैयाँले बढेको छ । रकमका आधारमा राजस्व संकलनमा २७.३६ प्रतिशत वृद्धि भएको हो । राजस्व संकलनको लक्ष्यअनुसारको प्रगति पनि ३.७५ प्रतिशत विन्दुले बढेको छ ।

कुल राजस्वमा कर राजस्वको हिस्सा सबैभन्दा ठूलो छ । सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा कात्तिक २२ गतेसम्म ३ खर्ब ४४ अर्ब ४५ करोड ९ लाख रुपैयाँ उठाएको छ । यो लक्ष्यको २४.५५ प्रतिशत हो । गत वर्षको सोही अवधिमा २ खर्ब ६९ अर्ब ८३ करोड १० लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो । यस वर्ष कर राजस्व संकलनमा मात्रै ७४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ वृद्धि भएको छ ।

गैरकर राजस्व संकलन भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । यस शीर्षकमा १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको १२.३१ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो ।

यसैगरी, सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा कात्तिक २२ गतेसम्म ८ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको १४.०८ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ मात्रै अनुदान प्राप्त भएको थियो ।

राजस्व, अनुदान र अन्य प्राप्तिसमेत जोड्दा चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ७७ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्राप्ति २ खर्ब ९३ अर्ब ३९ करोड ९ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा २८.७१ प्रतिशत वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*