भ्रष्टाचारविरुद्ध भोलि राजधानीमा बिशाल प्रदर्शनको तयारी, जेन जि पुस्ताले गर्दैछ नेतृत्व

काठमाडौं । कुनै पनि राजनीतिक पार्टीको आयोजना बिना नै भोलि राजधानी काठमाडौंमा भ्रष्टाचार अन्त्यको माग गर्दै बिशाल प्रदर्शनको तयारी भइरहेको छ । विभिन्न सामाजिक अभियान्ताहरुले भोलि अर्थात सेप्टेम्वर ८ लाई बिशेष दिनको रुपमा मानेर प्रदर्शन गर्न लागिएको हो ।
सामाजिक सञ्जालहरु फेसबुक, टिकटक आदिमार्फत गरिएको व्यापाक प्रचार प्रसारमा जेन जि पुस्ताहरु सहभागी भएर भोलि सरकारका विरुद्धमा बिशाल प्रदर्शन हुन लागेको हो । सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जि पुस्ता (सन् १९९७ पछि जन्मिएका युवा पुस्ता)हरुले व्यापक रुपमा अभियान चलाइरहेका छन् ।
भोलि अर्थात भदौं २३ गते राजधानी काठमाडौंको माइतीघर मण्डला, नयाँ बानेश्वरमा प्रदर्शन गर्ने सामाजिक सञ्जालमा चलाइएको अभियानमा उल्लेख छ । सामाजिक सञ्जालमा विभिन्न समुहहरुले चलाएको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने देखिएको छ ।

भोलि विहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शन गर्ने समेत उल्लेख गरिएको छ ।
नेपालमा यस्ता खाले प्रदर्शन बिरलै हुने गरेका छन् । नेपालको राजनीतिक मुख्य हस्तीहरु मानिएका कांग्रेस, एमाले, माओवादी समेत मिलेर देशमा चरम भ्रष्टाचार तथा विभिन्न काण्डहरु मच्चाएर ब्रम्हलूट गरिरहेको समयमा नयाँ पुस्ताले राज्यसत्ताका विरुद्धमा सडक आउन लागेका हुन् ।

भोलि राजधानीमा स्वतःस्फूर्त हुन लागेको प्रदर्शनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुम जिल्ला अधिकारी तथा सहायक प्रबक्ता मुक्तिराम रिजालले सरकारले शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरिरहेको बताउँदै शान्तिपूर्ण प्रदर्शन हुने अपेक्षा गरिएको बताए । भोलिको प्रदर्शन विशाल र भव्य हुने अवस्थामा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको रिजालले बताए ।













