प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग दुःखद : मानवअधिकार आयोगको सरकारलाई चेतावनी

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगलाई अस्वीकार्य ठहर गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले प्रदर्शन सुरु हुनु अघि नै आवश्यक सुरक्षा तयारी मिलाउनुपर्नेमा जोड दिँदै अनावश्यक बल प्रयोग नगर्न र युवापुस्ताले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन गर्न आग्रह गरेको हो।
आयोगले जारी गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र घटनाको निष्पक्ष तथा विश्वासिलो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिइएको छ। साथै, प्रदर्शनलाई मर्यादित र शान्तिपूर्ण राख्ने जिम्मेवारी आन्दोलनरत पक्षकै पनि हुने भन्दै संयम अपनाउन आग्रह गरिएको छ।
‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा प्रकट गर्ने अधिकार छ। लोकतान्त्रिक व्यवस्थामा सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्छ’ आयोगको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा तोडफोड र आगजनीमा प्रदर्शन परिणत हुनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको समेत प्रष्ट पारिएको छ।

आयोगले प्रहरीको गोली लागेर दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ।













