ओली देउवा नेतृत्वको सत्ताले मच्चाएको नरसंहारविरुद्ध बोल्यो राष्ट्र संघ

काठमाडौं । राजधानीमा दिन दहाडै डेढ दर्जन भन्दा बढि युवाको कत्लेआम हत्या गर्ने वर्तमान एमाले कांग्रेस गठबन्धनको सत्ताका विरुद्धमा संयुक्त राष्ट्र संघले मुख खोल्दै लोकतन्त्रमा स्वतन्त्रतापूर्वक विरोध गर्ने पाउने अधिकार हुँदा हुँदै नागरिकको हत्या तथा घाइते बनाएको घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं तथा देशका अन्य स्थानमा आज भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै पक्षलाई अधिकतम संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छिन् । राजधानीमा दिन दहाडै सरकारले अत्याधुनिक हतियारमार्फत गोली प्रहार गरी १७ जना र राजधानी बाहिर इटहरीमा दुई जना समेत गरी कूल १९ जना युवाको हत्या गरेको छ ।

सो घटनाले अन्तर्राष्ट्रिय रुपमा चर्को विरोध र आलोचना भइरहेको छ । नेपालस्थित संयुक्त राष्ट्र संघीय अधिकारी हम्दीले नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारलाई माग गरेकी छिन् ।
आज एकै दिन यति धेरै नागरिकको हत्या गरेपछि ओली नेतृत्वको सरकार गम्भिर नैतिक संकटमा मात्रै परेको छैन, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकायको निगरानीम समेत पर्ने देखिएको छ । आजै संयुक्त राष्ट्र संघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तको कार्यालयमा नेपालीहरुले धेरै वटा उजुरी दर्ता गराइसकेको जानकारी प्राप्त भएको छ ।
गृहमन्त्री रमेश लेखकले नागरिकको हत्यामा आफ्नो कमजोरी भएको अपराध स्वीकार गर्दै पदबाट राजिनामा दिइसकेका छन् । अब बाँकी जिम्मेवारी र जवाफदेहिता प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भएको छ ।













