भ्रष्टाचारमा डुबेका शासकहरु युवाको रगतले होस गुमाउँदै, कतै देशै छोडेर भाग्ने अवस्था त आउदैन ?

समाचार टिप्पणी
चरम भ्रष्टाचार, बेथीतिले चुर्लुम्म डुबेको दुई तिहाईको दम्भ देखाउने कांग्रेस एमालेको गठबन्धन सत्ता होस गुमाउँदै अघि बढिरहेको छ । जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनलाई उत्तेजित बनाएर १९ जनाको कत्लेआम हत्या गरेपछि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका ठेकेदारहरुले होस गुमाउने सम्भावना बढेको छ ।
भोलि हुनसक्ने सम्भावित विरोधमा पनि थप दमन गरी युवाको रगत बगाउन सक्ने प्रबल सम्भावना जीवितै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा आज मच्चाएको आम नरसंहारमा १७ जना होनाहार युवाहरुले प्राणको आहूति दिँदै शहादत प्राप्त गरेका छन् । त्यस्तै, राजधानी बाहिर इटहरीमा दुई जना जेनजी पुस्ताले प्राणको आहूति दिएर भ्रष्टचारमा डुबेको संघीय लोकतान्त्रिक शासन व्यवस्थाको अन्तिम भोज खानेहरु ठेकेदारहरुका विरुद्धमा धावा बोलेका छन् ।
मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हरण गर्दै लोकतन्त्रको हत्या गर्न समेत पछि नपरेको कांग्रेस एमालेको गठबन्धनले आजबाट औपचारिक रुपमा तानाशाही सरकारको रुपमा आफूलाई दर्ज गर्न पुगेको रुपमा आम विश्लेषण भइरहेको छ । देशैभरि उठेको आन्दोलनलाई वेवास्ता गर्दै नेपाली कांग्रेसको गृहमन्त्री र एमाले नेतृत्वको सरकार मिलेर विद्यालय पोशाकमा झोला बोकेर भ्रष्टाचार सुशाससन अन्त्यको माग गर्दै सडकमा उत्रिएका युवाहरुको माग बमोजिम सुशासनको प्रतिबद्धता दिनुको सट्टा सयौं राउण्ड गोली चलाएर होस गुमाएको अवस्थाको चित्रण गर्न पुगेको छ ।

युवाहरुको तातो रगतले नयाँ बानेश्वर संसद भवन वरिपरिका सडकहरु आज लत्पतिएका छन् । संसद भवन वरपरको सडक रगतले लत्पतिसकेको छ । अब वर्तमान व्यवस्थाको संसद अब जनताको रगतमाथि टेकेर मात्रै भित्र छिर्न पर्नेछ । युवाको रगतसँग अत्तालिएर गृहमन्त्री रमेश लेखकले राजिनामा दिइसकेका छन् । अब प्रधानमन्त्री ओलीले राजिनामा दिएर मात्रै समस्याको समाधान हुने अवस्था छैन । अब यो व्यवस्थाबाट युवा पुस्ताहरुको भावनाको सम्बोधन गर्न सम्भव छैन ।
यदि समयमै युवाहरुको भावना बुझ्न सकेनन् भने बंगलादेश र श्रीलंकामा जस्तै देश छोडेर भाग्ने अवस्था आउदैन भनेर भन्न सकिने अवस्था छैन । यसतर्फ पनि नेताहरुले ध्यान दिने पो हो कि ?













