सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा जेन जी प्रवेश, मुख्यमन्त्रीको गाडीमा तोडफोड

काठमाडौँ ।। सोमबार १९ जनाको ज्यान जानेगरी भएको सरकारी दमनपछि देशभर चर्किएको आन्दोलन मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलस्थित मुख्यमन्त्री कार्यालयसम्म पुगेको छ।
जेन जी आन्दोलनकारीहरूले मंगलबार दिउँसो कार्यालय परिसरमा प्रवेश गरी मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी गाडीमा तोडफोड गरेका छन्। कार्यालय वरिपरि प्रदर्शन भइरहे पनि ठूलो संख्यामा प्रदर्शनकारी अचानक कार्यालयभित्र पसेपछि सुरक्षा निकाय चनाखो बनेको छ।
आन्दोलनकारीले कार्यालय परिसरमै चर्को नाराबाजी गरेका छन्। सरकारी संरचनामाथि आक्रोश व्यक्त गर्दै उनीहरूले मुख्यमन्त्रीको गाडी लक्षित गरेर तोडफोड गरेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला—धनगढी, महेन्द्रनगर, दिपायललगायतका मुख्य शहरहरूमा मंगलबार बिहानैदेखि प्रदर्शन चर्किएको थियो। सोमबार १९ जना युवाको ज्यान जानेगरी भएको घटनापछि आज पुनः आक्रोशित युवा सडकमा उत्रिएका हुन्।













