प्रधानमन्त्रीको निर्देशनपछि जेन जी आन्दोलनको दोस्रो दिन समेत चल्यो गोली
२४ भाद्र २०८२, मंगलवार १२:२२

काठमाडौँ । भक्तपुरको बालकोट क्षेत्रमा जेन जी आन्दोलनको दोस्रो दिन पनि गोली चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुरक्षा निकायले प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा गोली प्रहार गरेको बताइएको छ।
घटना अनुसार, प्रदर्शनकारी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासतर्फ अघि बढिरहेका थिए। गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन् र उनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय स्रोतका अनुसार, घटनास्थलमा तनावपूर्ण अवस्था देखिएको छ। प्रशासनले थप अप्रिय घटना रोक्न सुरक्षा बल परिचालन गरेको छ।
जेन जी आन्दोलन सोमबार १९ जनाको मृत्यु भएपछि दोस्रो दिन पनि राजधानीमा चर्किएको हो। आन्दोलनकारीले भ्रष्टाचार अन्त्य, जवाफदेहिता र सरकारको राजीनामा माग गर्दै राजधानीका मुख्य क्षेत्रहरूमा सडकमा उत्रिएका थिए।













