‘जेन-जी’ लाई संयमित अपनाउन अपिल

काठमाडौँ । देशभर चर्किएको जेन जी आन्दोलनलाई शान्तिपूर्ण बनाइ संयमित ढंगले अघि बढाउन विभिन्न पक्षबाट अपिल हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र भीम उपाध्यायाले आ–आफ्ना तर्फबाट सन्देश जारी गर्दै आन्दोलनकारीलाई धैर्य अपनाउन आग्रह गरेका हुन् ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा ‘प्रिय जेन जी, देश तपाईँहरुकै हातमा हो, तपाईंहरूले नै बनाउनुपर्ने हो। तर अब हुने क्षति हामी सबैको साझा सम्पत्तिको क्षति हुने भएकाले घर फर्कनुहोस्’ भन्दै संयमित हुन अनुरोध गरेका छन् ।
त्यस्तै, भीम उपाध्यायाले भने आन्दोलन चर्किंदै जाँदा सार्वजनिक सम्पत्ति जोगाउन विशेष जोड दिएका छन् । उनले भ्रष्ट शासकहरू सत्ता च्युत भइसकेको उल्लेख गर्दै ‘अब युवा बालबालिकाको आम नरसंहारमा संलग्नहरूमाथि कानुनी कारबाही हुनेछ, आवश्यक परे अन्तर्राष्ट्रिय अदालत हेगमा समेत मुद्दा दर्ता हुनेछ’ भनेका छन् ।
उनले सार्वजनिक सम्पत्ति नष्ट नगर्न र कागजात सुरक्षित राख्न आग्रह गर्दै प्रहरीबाट खोसिएका हतियार सेनालाई बुझाउँदै जानुपर्ने सुझाव दिएका छन् । साथै, ‘अब नयाँ ढंगले शान्त दिमाग र एकताको भावना बोकेर भविष्य बनाउनुपर्छ’ भन्दै उपाध्यायले जनतालाई सचेत गराएका छन् ।
दुवै तर्फबाट आएका यी अपिलहरूले जेन जी आन्दोलनलाई थप शान्तिपूर्ण र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।













