आन्दोलनकै बीचमा ज्ञानेन्द्र शाहको वक्तव्य, नेपाली सेनालाई नियन्त्रणमा लिन राजावादीको अपिल

काठमाडौँ । देशभर जेन जी आन्दोलन चर्किँदै गएको बेला पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षधर समूहले नेपाली सेनालाई सक्रिय कदम चाल्न अपिल गरेको छ । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र दलहरूले जनभावना बुझ्न नसकेकाले देश गम्भीर मोडमा पुगेको दाबी गरेका छन् ।
विज्ञप्तिमा विदेशी परियोजना र सम्झौताका नाममा मुलुकमा बाह्य हस्तक्षेप बढ्न सक्ने चेतावनी दिँदै नेपाली सेनालाई संविधानको धारा २६७ बमोजिम तत्कालै राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गरी स्थिति नियन्त्रणमा लिन आह्वान गरिएको छ । साथै, अन्तरिम कार्यबाहक नेतृत्व चयनको प्रक्रियामा अघि बढ्नुपर्ने मागसमेत गरिएको छ ।
समितिले हालै भएको जेन जी आन्दोलनमा निहत्था युवामाथि भएको सरकारी दमनलाई योजनाबद्ध हत्या ठहर गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, आन्दोलनलाई संयमित तर संगठित ढंगले अघि बढाउन आह्वान गरिएको छ ।












