जेन-जी आन्दोलनपछिको अस्थिरता: मानव अधिकार आयोगको संयम र संवादको आह्वान

२५ भाद्र २०८२, बुधबार १६:४९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न भागमा भएको जेनजी समुदायको प्रदर्शन र त्यसपश्चात उत्पन्न अवस्थाको अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा मृतकका परिवार, घाइतेहरू तथा निषेधाज्ञाको समयमा मानव अधिकारको समग्र अवस्थाबारे प्रत्यक्ष अनुगमन भइरहेको उल्लेख गरिएको छ। यस क्रममा आयोगले अनुसन्धान कार्यमा सहयोग पु-याउन, मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवाप्रदायकलाई सहज आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

आयोगले विगत दुई दिनमा भएका हिंसात्मक कार्य, आगजनी र तोडफोडले ठूलो जनधनको क्षति भएको भन्दै गहिरो चिन्ता प्रकट गरेको छ। हिंसात्मक गतिविधि नगर्न र नगराउन सबैमा आह्वान गर्दै आयोगले संयमित भई लोकतान्त्रिक विधि र प्रक्रियाबाट मात्र राजनीतिक निकास सम्भव हुने विश्वास व्यक्त गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक आचरण गर्न आवश्यक छ। लोकतन्त्र नै उत्तम विकल्प हो, त्यसैले जनताको हक अधिकारलाई सुरक्षित र सशक्त बनाउन सकारात्मक भूमिका निर्वाह गर्न राज्यका अंग र आम नागरिक सबैलाई आग्रह गर्दछौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*